back
CTIZAN AD

किन मनाउने माओ दिवस ?

वि.सं.२०७६ पुस १० बिहीवार

1.3K 

shares

पूर्वीय प्रचलनमा जन्मदिन त्यति मनाउने गरेको पाइँदैन । तर, पश्चिमी जगतमा रहेको यो चलन अहिले पूर्वीय जगतमा, त्यो पनि विशेषगरि बच्चाबच्चीहरुमा निकै झाङ्गिएको छ । यसरी झाङ्गिनुको प्रथम र प्रमुख कारण त पूर्वका सबै क्षेत्रमा पश्चिमा साम्राज्यवादको प्रभुत्व बढ्नु नै हो भने दोस्रो र सहायक कारण भने पूर्वमा जन्मदिन मनाउने नगर्नु पनि रहेको छ । विडम्बना के भयो भने हाम्रा आफ्ना कतिपय चालचलन नहुंदा अर्काको भित्रने सहज वातावरण त बन्यो नै, सङ्गसङ्गै तिनका विकृती विसङ्गती र विपरीत अर्थ दिने चलन पनि भित्रिए ।

जन्मदिनका सन्दर्भमा बत्ती निभाउनु र केक काट्नु हाम्रो सन्दर्भमा मात्र होइन, प्राकृतिक र बैज्ञानिक दृष्टिले पनि राम्रो होइन, तथापी हाम्रोमा पुरानो वा नयाँ जन्म–संस्कार र जन्मदिनको सम्झना र सम्मान गर्ने र खुसियाली मनाउने प्रचलन नहुँदा त्यो यहाँपनी जस्ताको तस्तै झाङ्गिने मौका मिल्यो । र, सुरुमा बच्चाबाट हुर्केको यो चलन बूढापाका, ठुलाबडा, र यहाँसम्मकी आफूलाई क्रान्तिकारी कम्युनिस्ट संस्कार–संस्कृतिका मसिहा ठान्ने नेता–शासकहरुले समेत जन्मदिन मनाउने यो पश्चिमा संस्कृति लागू गरेको पाइन्छ । जबकी माओले नेताहरुको जन्मदिन नमनाउने भन्नू भएको छ । आफूले आफ्नो जीवनकालमै आफ्नो उच्च मूल्यांकन र अधिमूल्यन गर्ने–गराउने र समाज, पार्टी वा राष्ट्रमा आफ्नो प्रभुत्व बढाउने नियतले जीवित नेताहरुले आफ्नो जन्मदिन मनाउने कृतिम वातावरण नबनाऊन् र यसो गर्नुले पार्टी र आन्दोलनमा आत्मकेन्द्रीत व्यक्तिवाद, आत्मप्रसंसावाद, नेताभक्तिवाद र व्यक्तिपूजावाद हुर्किन सक्छ भनी माओले नमनाउने भन्नू भएको हो । तर, ती व्यक्ती वा नेताको मृत्युपश्चात जन्मदिवस र जयन्ती वा मृत्यु दिवस र स्मृतिदिवस मनाएर तिनको यथोचित मूल्यांकन गर्ने, तिनका विचार, भावना र योगदानहरुको सम्झना र सम्मान गर्ने अनि ती विचार, भावना र कार्यहरुको संरक्षण, संबर्धन र अवलम्बन गर्ने–गराउने गर्नु त हरेक जीवित अनुयायी र उत्तराधिकारीको अनिवार्य आवश्यकता र परम् कर्तव्य नै हुन्छ । त्यसैले स्पस्ट छ, माओले जन्मदिन मनाउने कार्यलाइ निरपेक्ष रुपले रोक्न वा हतोत्साहित गर्न वा निषेध गर्न खोज्नु भएको पटक्कै होइन ।

जन्म र मृत्यु नितान्त विपरीत परिघटना हुन् । यी अनिवार्य र अपरिहार्य पनि छन् । सामान्यतया मानिसको जन्म हुँदा हर्ष, उल्लास र सुखानुभूती हुन्छ भने मृत्यु हुँदा शोक, पीडा र दुखानुभूती हुन्छ । त्यसैले सामान्यतया जन्मदिनलाई एउटा उत्सवको रुपमा मनाउनु र मृत्युलाई शोक–श्रद्धा र स्मृतिको रुपमा मनाउनु वान्छ्नीय नै हुन्छ । तर जब कोहि मानिस मानवजातिकै लागि कलङ्क, कहर र दुश्मन हुन्छ, तब उसको जन्मदिन मनाउनु विडम्बना हुन्छ भने कुनै जन्म वा जीवन समस्त जीवन र जगतकै मुक्ती, प्रगती र समृद्धिको लागि प्रेरणा, गर्व र हर्षको स्रोत बन्छ भने त्यस्ताको जन्म दिवस नमनाउनु पनि दुखद विडम्बना हुन जान्छ ।

त्यसैले सामान्यतया कुनै महापुरुषको जन्मदिवस मनाउँदा भएको हर्षोल्लास र गरिएको महिमा मण्डनलाई भावी पिंढी र खासगरी बच्चाहरुको मनोविज्ञानमा संप्रेषण गर्नको लागि र उनीहरुका भावी जीवन र कार्यहरु परिवार र समाजको लागि यस्तै सार्थक र हर्षोल्लासमय होउन् भन्ने अपेक्षा र कामनाले बच्चाहरुको जन्मदिन मनाउनु स्वाभाविक र आवश्यक नै हो !
जहाँसम्म बच्चाबाहेकका अरुको जन्मदिन मनाउने कुरा छ, त्यसमा केही ख्याल त अवश्य गर्नुपर्छ ! वास्तवमा कुनै वयस्क वा वरिष्ठ व्यक्तिको जन्मदिन मनाउनुको अर्थ हो कि उसको समग्र जीवनमा उसले समाज, जीवन र जगतप्रति गरेको योगदान । यद्यपि उसको अन्तिम र सही मूल्यांकन उसको मृत्युपछी मात्र हुन सक्छ, तथापी त्यतिबेलासम्मको आवधिक मूल्यांकन गर्दै ती योगदानहरुको स्मरण, कदर, अवलम्बन र कार्यान्वयन गर्न–गराउन जन्मदिवस मनाउने कार्यहरु गर्नै नसकिने चाहिँ होइन ।

यसो हेर्दा कसैको जन्म वा मृत्युदिवस मनाउनु कुनै व्यक्ति विशेषको जन्म वा मृत्युको घटनासङ्ग मात्र सीमित भएकोजस्तो र उसको पूजा, प्रशंसा, भक्ती वा चाकरी गरेकोजस्तो लागेपनी वास्तवमा जब ती व्यक्तिको जन्म वा मृत्युको अर्थ, प्रभाव र परिणाम व्यक्ति वा परिवार विशेषमा मात्र सिमित नभएर सिङ्गो समाज, राष्ट्र र संसारकै सरोकारको विषय बन्न पुग्दछ र जब त्यो जन्म वा मृत्यु खाली तत्क्षणिक घटना मात्र नभएर जन्म वा मृत्युसँगै उसका सदविचार र सत्कर्म वा दुरविचार र दुस्कर्महरु पनि जोडिएर आई दीर्घकालीन विषय बन्छन्, तब उसको जन्म वा मृत्यु दिवस सो व्यक्तिविशेषको मात्र नभै सार्वजनिक विषय बन्ने हुनाले त्यस्ता दिवसहरु मनाउने वा नमनाउने भन्ने कुरा उसका योगदानमा निर्भर हुनेहुनाले यसबारे समाजले निश्चित गर्नु पर्दछ र गर्दछ ।

आज २६ डिसेम्बर अर्थात् एक महान् क्रान्तिकारी नेता माओको जन्म दिन । आजकै दिनमा सन् १८९३ मा चीनको हुनान प्रान्तको शाओशान काउन्टीको छाङ्सामा माओ जन्मेको र हाल उहाँको मृत्यु समेत भैसकेकोले यस २६ डिसेम्बरलाई माओदिवसको रुपमा मनाउँदै आइएको छ । वास्तवमा माओदिवस अर्थात् माओको जन्मदिन यस कारणले मनाइन्छ कि माओको योगदान माओ र उहाँको परिवारमा मात्र सिमित छैन, बरु यो त चीन लगायत विश्वका आम शोषित–पीडित राष्ट्र र जनताहरुका सुखदुखहरुसँग सम्बन्धित छ । वास्तवमा माओको जन्मसङ्गै विश्वका सारा शोषित-पीडित जनता र राष्ट्रहरुको सुदिन जन्मिएको हो । त्यसैले यो दिन माओको परिवार, पार्टी र देसभन्दा बाहिरका हामीहरुको लागि पनि विशेष उल्लेखनीय दिन हो ।

अझ, माओ जन्मेको वा मरेको दिन मात्र स्मरणीय हुने होइन, बरु माओले गरेका महान् कार्यहरुको सफलता र सार्थकता प्रमाणित भएका दिनहरु, माओका योगदानहरुले देश र दुनियाँलाई बदल्नमा खेलेको भूमिका स्पष्ट भएका दिनहरु र माओको नेतृत्वमा सम्पन्न भएको अक्टोबर १ को महान् चिनियाँ नयाँ जनवादी क्रान्ती दिवसजस्ता महत्वपूर्ण दिनहरुलाई पनि स्मरण गर्नु र ती विचार, काम र योगदानहरुको संप्रेषण र संबर्धन गर्नु हाम्रो परम् कर्तव्य हो ।

यतिबेला त झन् माओ, माओका विचार, सिद्धान्त, क्रान्ती र मुक्ती अनि माओको देश चीन, चिनियाँ कम्युनिस्ट पार्टी र महान चिनियाँ जनताले हाल प्राप्त गरिरहेको शक्ति, सामथ्र्य, विकास, प्रगती र समृद्धी आदि सबैका विरुद्ध देशविदेशबाट प्रतिकृयावादी साम्राज्यवादीहरुले जेहाद छेड्ने, घेरावन्दी र नाकावन्दी गर्ने, एक्लाउने, गडबडी मच्चाउने र फुटाउने अनि ध्वस्त गरि विश्वमा आफ्नो एकछत्र हैकम चलाउने मनसायले चिनियाँ नेतृत्वमाथी समेत आक्रमण गरिरहेको सन्दर्भमा सामान्यतया कम्युनिस्ट भनिने सबैले र विशेषतया माओवाद र विचार वा माओविचारधारालाई आफ्नो पथप्रदर्शक मान्ने शक्तिहरु सके सबैले संयुक्त भएर, नभए पनि अलग-अलग भएर पनी निकै सभ्य, भव्य र दिव्यरुपमै माओदिवस मनाउनु पर्ने हो । तर दुखको कुरा के छ भने माओवादको वैचारिक धरातलमा टेकेर रक्तपात मच्चाई त्यसकै बलमा आफुलाई सत्ता र शक्तिको दमदार ठेकेदार र हकदार बनाएको मुख्य नेतृत्वको एउटा ठूलो समूहले माओदिवस मनाउनु त परै रहोस्, आफ्नो दस्तावेजबाट पनि माओको नाम समेत मेटाउने मात्र गरेको छैन , उल्टै घनिष्ट छिमेकी र निस्वार्थ सहयोगी मित्र देश (माओको देस) चीन बिरुद्ध आज साम्राज्यवादीहरुद्वारा चौतर्फी प्रहार हुँदापनी त्यसको बचाउ गर्नुको साटो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तिनै साम्राज्यवादीहरुले फ्याँकेको जुठो कलो र दिएको धम्कीघुर्कीका अगाडि आफूलाई नतमस्तक बनाई तिनको कम्युनिज्म विरोधी चक्रब्युहमा फसेको छ ।

त्यसैगरी आफूलाई माओवादी मात्र होइन, क्रान्तिकारी माओवादी नामले पुकारेर आत्मरती गरि नथाक्ने एउटा सानो र संकीर्ण राजनीतिक समूहले पनि आफ्नो केन्द्रीय कार्यालयको एउटा कोठामा एक्लै माओदिवस मनाउने तयारी गरेको छ । नमनाउनु भन्दा मनाउनु केही सकारात्मक त हो तर माओ हामी सबै नेपाली कम्युनिस्टहरुका महान् गुरु र महानायक भएकाले संयुक्त र सशक्त रुपमा माओदिवस मनाएर साम्राज्यवादी जल्लादहरुलाई हाँक दिनुपर्ने यो बेलामा आफ्नो कार्यक्रममा अरु पार्टी र नेताहरुलाई समेत बोलाएर संयुक्त हुन सक्ने सन्देस दिंनुपर्ने र आफूहरु बिचका बुझाइ र गराइमा भएका फरक र कमीकमजोरीलाई सच्चाउने अन्तरक्रियामूलक कार्यक्रमको रुप दिनु पर्ने हो । तर त्यसो गर्नु त परै रह्यो, त्यसो गरौं भन्दा पनि नमानेर आफ्नै डम्फू एक्लै बजाउदै माओदिवस मनाएर आत्मरती गर्नु सुखद होइन । फेरि, माओलाई रुपमा मान्ने तर सारलाई छाड्ने, मुखले माओवाद वा विचारधारा जप्ने तर व्यवहार खाओवादको गर्ने, दस्तावेजहरुमा माओको उच्च मूल्यांकन गर्ने तर कार्यान्वयनमा कायरता प्रदर्शन गर्ने र धुमधामसङ्ग माओ दिवस त मनाउने तर उहाँका विचार र आचारलाई आत्मसातीकरण र कार्यान्वयन नगर्ने गर्नुको पनि कुनै खासै अर्थ छैन ।

खैर जे होस्, माओदिवस मनाउनु माओ नामक एक व्यक्तिको पूजा वा नेताको भक्ती–स्तुति नभएर, माओ नामक एक महान क्रान्तिकारी व्यक्तित्व र नेतृत्वको समाज र संसारप्रतिको भूमिका र दायित्वको सम्झना, सम्मान र सलामी हो भन्ने स्पष्ट हुन्छ र हामीले प्रसन्न चित्त, खुला दिल र विशुद्ध आत्माले यस्ता दिवसहरु मनाउँछौं र मनाउनुपर्दछ । यसरी देश र समाजको लागि दुखकष्ट र त्यागबलिदान गर्नेलाई स्मरण, मूल्यांकन र श्रद्धा नगर्ने हो भने र तिनका विचार, भावना र कर्महरुलाई स्थापित, विकसित र संप्रेषित नगर्ने हो भने देश, समाज र संसारप्रती केही गर्ने चिन्तन र प्रवृत्तिकै अन्त्य हुने छ र यो दुनियाँ बस्न, बांच्न र बढ्न नसकिने हुनेछ । त्यसैले समाज र राष्ट्रप्रतिको दायित्वबोध गर्न\गराउनको लागि पनि यसप्रकारका माओजस्ता राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय व्यक्तित्व र नेतृत्वका जन्म वा मृत्यु दिवसहरु अवश्य मनाउनु पर्दछ । यो हाम्रो न्यूनतम सामाजिक र क्रान्तिकारी जिम्मेवारी पनि हो ।

कामरेड माओको हार्दिक सम्झना र श्रद्धा गरौं ! माओका योगदानहरुको सच्चा र अच्छा मूल्यांकन गरौं !! माओका विचार र भावनाहरुलाई आत्मसात गरौं !!! सम्पूर्ण कम्युनिस्टहरु एकताबद्ध होऔं !!!! सर्वहारा अन्तर्राष्ट्रियतावादलाई अवलम्बन गरौं !!!!! देश–विदेशमा क्रान्ती जारी राखौं र जनवाद–समाजवाद हुँदै साम्यवादको दिशामा अघि बढौं !!!!!!

लेखक -शर्मा नेकपाका नेता हुन्

वि.सं.२०७६ पुस १० बिहीवार १३:१५ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...