मेरो वालापन
गोठ छेउमा राखिएको
त्यो ढुंगाको कथा सुनेर बित्यो
सायद त्यही करेसामा
दुई पुस्ता छिचोल्यो
त्यो उधिँन ढुंगाले !
हजुरआमा भन्नू हुन्थ्यो-
यस्लाई पखालि रहनुपर्छ
धुलो मैलो जम्न दिनु हुदैन
अनि बल्ल धार लाग्छ
कर्मका हतियार चम्काउँछ-यस्ले
यो उधिँन ढुंगा हो ।
समय सापेक्ष
विकाशको गतिसंगै
डोजरले घुचटिएर
साँईलाबाको बारीमा
अलि तल
पिपलको फेदमुनि पुग्यो
त्यो उधिँन ढुंगा !
हुनसक्छ !
पिपल पूजामा गएकी कुनै गृहेणीले
त्यो ढुंगामा अविर छर्किएकी
त्यही क्रमले सायद
पूजिदै गयो त्यो उधिँन ढुंगा !
आज ,
यही समाजका मान्छेहरु
फूल अक्षता लिएर
मनोकांक्षा पुराहुने आसमा
त्यही ढुंगा पुजिरहेछन्
यथार्थ बुझ्नेहरु
हतियार उधाँउँछन्त्यो- ढुंगामा
नबुझ्नेहरु फूल प्रसाद चढाउँछन्त्यो- ढुंगामा
हिजोआज यो समाजमा
ढुंगा विषयमा मत बाझिन थाल्यो
यही गाउँका
यही समाजका मान्छेहरु
विभाजन हुन थाले
कुनै निकायबाट
मध्यस्थता हुन सकेन
दुई पक्ष खडा भए
ढुंगा पुज्ने र,
धार लगाउने विच
झन् झन् बढ्यो हिंसा
अन्तत ः
धर्म विरोधी भनी
गिरफ्तार गरियो मलाई
मेरो विरुद्धमा
सरकारी बर्दि मनोमानी मच्चियो
गर्जिएपछि शक्तिवाला बर्दि
अनि मैले भनें-
हजुर !
पुर्खाको मायाले
मैले त्यो ढुंगा छोएर
जीवन उधाँउँथें
जहान केटाकेटीलाई पनि
ममताको पाइन भर्न लान्थें
त्यही ढुंगाको आधारले
मैले जीवन घुचटिरहेको थिएँ
मेरो गल्ती यत्ति हो-हजुर !
बर्दिको उन्मादले हुँकार छोड्दा
फेरि म बोल्थें-
ए हजुर !
मेरो हजुरआमा भन्नू हुन्थ्यो-
यस्मा धुलो मैलो जम्न दिनु हुँदैन
त्यसैले,
बेलाबेलामा म पखाल्छु-त्यो उधिँन ढुंगा र,
मेरो जिन्दगीमा खुसीको धार लाउने गर्छु
मेरो गल्ती भयो र हजुर !
मेरो गल्ती यही हो हजुर !!
वि.सं.२०७६ पुस १९ शनिवार १०:०७ मा प्रकाशित





























