हामी भत्किएका होइनौ
हामी टाडिएका होइनौं
हामी छोपिएका होइनौं
हामी धसिएका होइनौं ।
हामीलाई त अनैतिकताले भत्काएको हो
हामीलाई त व्यावाहारिकताले टाडा पारेको हो
हामीलाई त आडम्बरले छोपेको हो
हामीलाई त अचेतनले धसाएको हो ।
मान्छे–मान्छेभित्रको यो द्वन्द्ध
मान्छे –मान्छेमाझको यो परिपाटी
केवल एकतमासले बैलाह झैं दौडीरहन्छ
खोलाको किनारा हुँदै
जंगलको फेदी हुँदै
शहर–बजार हुँदै
कैले हिमालका टाकुरासम्म त कैले ती समतल फाँटहरूमा ।
गूँडमै लिलामी भएका पंक्षीहरू सरह हामी
स्वतन्त्रतालाई गर्भमै तूहाएका छौं ।
तसर्थ हामी हाम्रा नयन अघि देखिएका
मनभरी पालिराखेका कलिला रहरहरूलाई
सपनाहरूलाई बन्दकी राखेर
नयन अघि यथार्थको विशाल क्षितिजमा
चम्काउन सक्तैनौ ।
चीर कालदेखि मान्छेले देखिरहेको सपना
चुर्लुम्म डुबेको मात्र देख्छु पानीका फोकाहरूसँगै
एकतमासले धमिला दहहरूमा ।
कागजमा कोरिएको मात्र पाउँछु
हरेक शब्दका माउहरूमा
स्याहीले वान्ता गर्दै राल ,सिंगानसँगै
काँचो रगतका फाल्साहरूमा…।
निर्विवाद ती मान्छेका बस्तीहरूमा
अब त साँझ बत्ती बाल्न छोडे झैं लाग्छ
विश्वासको मूर्ति चोरिएर होला
काटिएर होला
फुटेर होला
विध्वाको सिउँदो लुटिए जस्तो
केवल सपना नै रहन्छन होला
फरक यी वैचारिकता
आस्था अनि विस्वासको पर्खाल
मनको कारागरमा मात्र थुनिन्छन होला अझै पनि ।
आदिम हुँदै
सभ्यताले मान्छे बनायो तर
मानव बनाउन सकेन छ
शोक र संत्रासले थिचेको एक मुट्ठी प्राण पनि
उसको अधिनमा रहन्न ओठमा हाँसो बोकेर ।
केवल सुन्दरता भ्रम मात्र हुन्छ मान्छेको
वैराग्यले मताई सकेको पाउँछु ।
किनकि सुकरातले पिएको विष नै
आफ्नो लाग्छ उनीहरूलाई ।
फूललाई हेरेर मान्छेले रमाउन भुलि सकेको हुन्छ
मान्छेमा निहित स्वार्थ विराजमान भई रहन्छ
रातो रगतमा अनि हरेक स्वचालित नशा र
र माँशपेशीहरूमा
जबसम्म यी दानवहरू निस्कदैनन् ।
चारै दिशा संत्रास छाईरहन्छ
नाराहरू एकतमासले रोईरहन्छन…!!!
रोईरहन्छन !!!
रोईरहन्छन…!!
गान्तोक सिक्किम भारत
वि.सं.२०७६ पुस १९ शनिवार १०:१८ मा प्रकाशित






























