कमिलाहरू बसाइँ जादैथे त्यो ठाउँलाई छोडेर अलिक माथिल्लो भेग तिर । लङ्गडो गङटा पनि मरितरि घिस्रदै उकालो नै चढ्दै थियो ।
ढिकमा निस्की खुइया गरेर उकालो हेर्दै गर्दा इमानको भ्यागुतोले दहमा फुत्त फाल हान्यो ।
अनि अलिकति टाउको निकालेर ट्वार्र ट्वार्र भन्दै सालैजु भाकाको लोकगीत गाउँन थाल्यो ।
चप्लेटी ढुङ्गाको चेपमा कुर खनेर बसेको गङटाले चिनेको लामघुँडे पाहालाई भन्याथ्यो ‘साइला ! कालै भएर धुमिएको छाँटले ठूलो पानी पर्छ । खोला उर्लन्छ, हामी बसेको चप्लेटीलाई पनि बगाउन सक्छ , जाउँ मास्तिर ।’
‘हाहाहा हाँस्दै पाहाले खिसी गरेको थियो’ जाउ डरछेरुवा हो । त्यो भित्तोमा बस्ने कमिलोहरू पनि अघि नै फुल बोकेर हिँडी सके । आफू त दशहात फाल हान्न सक्ने परियो । त्यस्तै उघाउ नै आए उपाय र शक्ति छ, जाउ ल्याङ्ल्याङ् नगर ।’
गङटालाई दुःख लागेको थियो, छिमेकी पाहाले उसको कुरो नबुझेकोमा ।
मेघ गर्जनको साथ अविरल पानी पर्न थाल्यो । भ्यागुताहरू रमाउदै थिए । त्यही समुह छेउमै नाँच्दै थियो पाहा पनि ऐहोट ऐहोट भन्दै ।
खोला रातभरि उर्लिरह्यो सुसाउँदै । गङटालाई भने निन्द्रा लागेको थिएन ।
पानी रह्यो । खोला उर्लन छोड्यो । गङटा खोला तिर फर्कियो । डीलमा पुगेर हेर्दा तीनदङ्ग पर्याे, ऊ बस्ने चप्लेटी थिएन । न थिए ऊ हिँड्दा नाँच्दै गीतगाइरहेका पाहा र भ्यागुताहरू ।
ताम्लिछा, डाँडा गाउँ-२, लिम्चुङ्बुङ्
हाल-त्रि.न.पा, संगमटोल-११, उदयपुर,
१ नम्बर प्रदेश
वि.सं.२०७६ पुस २६ शनिवार ०९:५२ मा प्रकाशित