बा, तपाईले कान बटारे पनि बटार्नुस
कान समातेर उठबस गराए पनि गराउँनुस
सिर्कनाले हान्नुस या गोर्खे लौरी लाउँनुस
सप्पै यातनाहरू दाह्रा किटेर खप्छु
तर , तर म
यो पटक म आदेश पालना गर्दै गर्दिन
म त्यो झुटो इतिहास पढ्दै पढ्दिन !
बा, त्यहाँ त
हत्यारालाई नायक भन्नु पर्छ
षडयन्त्रकारीलाई
सवैभन्दा लायक भन्नु पर्छ
हाम्रो राष्ट्र खानेहरूलाई त्यहाँ
राष्ट्र निर्माता भन्नु पर्छ
यस्तो आफैलाई मोसो दल्ने काम
म मरिगए गर्दिन
म तिनीहरूले लेखेको इतिहास पढ्दै पढ्दिन !
बा, तपाईले नै भन्नुभएको हैन
हामी आफ्नै सुख दुखमा थियौं,
उनीहरू कोदोबारीको देशबाट आए
र हाम्रो फाँट देखेर आँखा गाडे ।
उनीहरू भीर र पहराबाट आए
र हाम्रो उपत्यका देखेर लोभिए ।
उनीहरू बर्बर युगबाट फुत्त निस्के
र हाम्रो सभ्यता देखेर विस्मित भए ।
उनीहरू दहचोकमा आए र किल्ला गाढे
त्यसपछि आए र हामीलाई जिस्काए ।
आफ्नो सेना नायक गुमाएर फर्के
उनीहरू फेरि आए
र हामीलाई ढुङ्गा हान्न थाले
भाइको आँखा खसालेर भागे
पल्किएको स्यालजस्तै
उनीहरू फेरि पनि आए
महिनौं घेरा हाले
हामीलाई भोकभोकै राखे
पर्खाल फोरे र भित्र पसे
हाम्रा टाउका काटे हात खुट्टा काटे
हाम्रा नाक काटे, कान काटे
यसरी उनीहरूले हामीलाई लुटे !
यसरी लुटिएको कुरा
कसरी एकीकरण हुन्छ बा ?
बा, तिमी जतिसुकै रिसाऊ
जतिसुकै थप्पड हान
म एक पढ्दिन, दुई पढ्दिन, तिन पढ्दिन
म लुटेराहरूको इतिहास पढ्दै पढ्दिन ।
बा तिमी मलाई
इतिहास पढ्न कर नगर
बरु इतिहास लेख्न भन
म यो जाली इतिहासलाई च्यात्न चाहन्छु
र पराजितहरूको इतिहास लेख्न चाहन्छु ।
मेरा बा,
आफ्नो इतिहास नहुनेको
आफ्नो वर्तमान पनि हुदैन
र भविष्य त झनै हुदैन ।
म मेरा सन्तानको भविष्यको लागि
आफ्नै इतिहास लेख्न चाहन्छु
जहाँ हत्यारालाई हत्यारा लेखियोस
र लुटेरालाई लुटेरा नै लेखियोस !
मेरा बा !
म जुत्ताको माला लाउँन तयार छु
तर परायाहरूको इतिहासलाई
मेरो हो भनेर पढ्न तयार छैन
म मेरा पुर्खाको चिहानमाथि
उनीहरूबाटै हत्या गरिन तयार छु
तर आत्महत्या गर्न तयार छैन
म जिउँदै मर्न तयार छैन ।
२०७६्र०९्र२७
भक्तपुर
वि.सं.२०७६ पुस २७ आइतवार १५:५५ मा प्रकाशित






























