मातापिता जनमका अविभाज्य आस्था
आशिष लिई जुग बिते तर छैन वास्ता
टाढा रहेर कसरी भन प्रेम भर्छौ ?
बारेर व्यर्थ किरिया अपमान गर्छौ(१)
मिल्दैन फुर्सद भनी जव टिम्किने हो
बेहाल जन्मघरको दिन निम्तिने हो
छैनन् बरा नजिकमा सहयोग छल्छौ
बारेर व्यर्थ किरिया अपमान गर्छौ (२)
पुज्छौ तिमी चरणमा न त बारबार
के काम पुत्र कहने भन अंसियार ?
पस्दै विदेश जगमा जव नित्य चर्छौ
बारेर व्यर्थ किरिया अपमान गर्छौ (३)
खुल्दैन भित्र किन हो मनको विवेक
के स्वार्थ नै भुवनको निधि हुन्छ एक ?
बेकार शब्द मुखले नित ठिक्क छर्छौ
बारेर व्यर्थ किरिया अपमान गर्छौ (४)
त्यो अन्त्यको समयमा जव साथ माग्छन्
पाउन्न साथ किन हो अभिशाप ठान्छन्
मातापिता मरणमा अलपत्र पार्छौ
बारेर व्यर्थ किरिया अपमान गर्छौ (५)
(पढ्ने निहुँमा बिदेशमै हराउनेको नाममा)
वि.सं.२०७६ माघ २ बिहीवार १०:०७ मा प्रकाशित






























