९ माघ, जापान । गैरआवासीय नेपाली संघ जापानको क्षेत्रिय समन्वय समिति कान्साइले विरामी भक्त बहादुर थापालाई आर्थिक सहयोग गरेको छ ।
स्याङजा घर भई गत अक्टोबरमा विद्यार्थी भिसामा जापान पुगेका भक्त बहादुर थापालाई समितिले आर्थिक सहयोग गरेको हो ।
आकस्मिक रुपमा विरामी भएपछि पेटको शल्यक्रिया गरिएका उनलाई समितिले क्योटोमा आयोजित एक कार्यक्रममा ३० हजार जापानी ऐन आर्थिक सहयोग गरिएको हो ।
उक्त रकम संस्थाका संयोजक कृष्ण गैरे, उपसंयोजकद्वय दिलीप शर्मा गैरे, हरि कंडेल तथा कोषाध्यक्ष विष्णु साप्कोटाले संयुक्त रूपमा हस्तान्तरण गरेर समितिको आपतकालीन राहत कार्यक्रमको सुरुवात गरेका हुन् ।
विरामी थापाको उपचारका लागि झण्डै २ लाख जापानी येन लाग्ने भएपछि एनआरएनए कान्साईका सहकोषाध्यक्ष चुणामणि कंडेल समक्ष थापाले आफ्नो समस्या बताएपछि उक्त सहयोग गरिएको बताइएको छ ।

तत्कालै समितिका उपसंयोजक दिलीप शर्मा गैरे अस्पताल पुगेर थापाको अवस्था बुझेपछि वार्ड अफिसबाट प्रक्रिया पुर्याएर गेन्दोगाकु सिन्सेई पश्चात २ लाख लाग्नेमा जम्मा ४० हजार येन मात्र खर्च भएको समेत बताइएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा थापाले आफू नेपालबाट भर्खर जापान आएको तथा विरामी परेपछि आत्तिएपनि एनआरएनए कान्साईले अभिभावकको भूमिका पूरा गरेको भन्दै आगामी दिनमा एनआरएनएमा लाग्न आफूलाई प्रेरणा मिलेको समेत बताएका थिए ।
त्यस्तै कार्यक्रममा उपस्थिति सबैले समितिको यस्तो उदाहरणीय कामले एनआरएनएप्रति अझ विस्वास बढेको बताउँदै धन्यवाद दिएका थिए ।
समितिका संयोजक कृष्ण गैरेको सभापतित्वमा सम्पन्न भएको उक्त रकम हस्तान्तरण कार्यक्रममा गैरले यस्ता कामहरुलाई निरन्तरता दिँदै जाने तथा संस्थाको प्राथमिकतामा राख्ने बताउँदै सबैलाई यसमा हातेमालो गरिदिनुहुन अनुरोध समेत गरेका थिए ।
वि.सं.२०७६ माघ ९ बिहीवार १३:४१ मा प्रकाशित





























