९ फागुन । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी गरिरहेको विदेश मन्त्री माइक पोम्पेओले शुक्रबार बताएका छन् ।
“हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ,” उनले साउदी अरबको भ्रमणपछि जारी विज्ञप्तिमा भनिएको छ।
अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले भने, “तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आगामी हप्तादेखि नै ‘हिंसात्मक गतिविधिलाई’ रोक्ने सहमति भएको र आगामी हप्ता देखिन गतिविधिले नै सम्झौता गर्ने वा नगर्ने भन्ने निचोड निस्किनेछ । आशा गरौँ तीन वटै शक्तिले हिंसा कम गर्ने सहमति जनाएकाले अब यसमा स्वतः कमी आउनेछ ।”
आंशिक मानिएको वार्ताले अफगानिस्तानमा १८ वर्षभन्दा बढी रहेको द्वन्द्व अन्त्यका लागि ऐतिहासिक कदम चाल्नेछ र सम्झौताको मार्ग प्रशस्त हुनेछ जसले अन्ततः युद्धको अन्त्य देख्न सक्छ ।
बृहत् र स्थायी युद्धविराम र अफगानिस्तानका लागि भविष्यको राजनीतिक मार्गचित्र यो आधारभूत चरणमा निर्माण हुने अमेरिकी विदेशमन्त्री पोम्पेओले बताए ।
पोम्पेओले भने, “चुनौती अझै बाँकी छ तर हालसम्म भएको प्रगतिले आशा प्रदान गर्दछ र वास्तविक अवसरको प्रतिनिधित्व गर्दछ । अमेरिकाले सबै अफगानी नागरिकलाई यस क्षणको उपयोग गर्न आग्रह गर्दछ ।”
यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गर्नुभएको छ । उनले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको छ ।
“आजको घोषणालाई म स्वागत गर्दछु कि अफगानिस्तानमा हिंसामा उल्लेखनीय कटौतीको बारेमा समझदारी भएको छ,” स्टोल्टनवर्गले एक विज्ञप्तिमा भने । उनले भने, “यो हिंसा घटाउने तालिवानको इच्छाशक्ति र क्षमताको परीक्षा हो र यसले शान्तिका लागि विश्वासको योगदान गर्नेछ । यसले अफगानीहरूबीच वार्तालाप, दिगो शान्ति र मुलुकलाई फेरि आतङ्ककारीहरुको लागि सुरक्षित ठाउँ नहुने कुरा सुनिश्चित गर्न सक्नेछ ।”
अफगानिस्तानमा नेटोको १६ हजार सैनिक रहेका छन् जसले स्थानीय सेनाहरुलाई प्रशिक्षण, सहयोग र सल्लाह दिने गरेको छ ।
अमेरिका–तालिवानबारे नयाँ सहमतिलाई रूसले ऐतिहासिक सम्झौता अफगानिस्तानको शान्तिको लागि ‘महत्वपूर्ण घटना’ हुने बताएको छ ।
मस्कोका अफगानिस्तानका राजदूत जमीर काबुलोभले राज्य सञ्चालित समाचार संस्था आरआईए नोवोस्तीसँग भने, “यदि सम्झौता समारोहमा आफूलाई आमन्त्रण गरिएमा त्यहाँ सहभागी हुने बर्ताएका छन् । यो अफगानिस्तानमा शान्ति प्रक्रियाको लागि महत्वपूर्ण घटना हुने उनको धारणा थियो ।
काबुलोभले भने, “यो सम्झौताबीचमा कुनै पनि अवरोध नहुनेमा पूर्ण विश्वास लिएको र अमेरिकासँग सम्झौता भएपछि अफगानिस्तानका सबै पक्षहरूबीच वार्ता सुरु गर्न मस्कोले आग्रह गर्दछ ।”
वि.सं.२०७६ फागुन ९ शुक्रवार २१:१९ मा प्रकाशित






























