२४ फागुन, काठमाण्डौं । खरानी रङको सर्ट र नीलो पाइन्ट । यो कतारको प्रहरीको पोसाक हो । अब यो पोसाक नेपालीले पनि लगाउने छन् । कतारमा कार्यरत नेपालीले गैरकानुनी काम गरे पक्राउ गर्न नेपाली नै आइपुग्न सक्छन् ।
कतार प्रहरीको तीन महिने आभधारभूत तालिम एकसय ७९ नेपालीले विहिबार सकेका छन् । उनीहरुलाई त्यहाँको आन्तरिक मन्त्रालयले कार्यक्षेत्र तोकेर खटाउने छ । उनीहरुलाई कुन विभागको जिम्मेवारी दिइनेछ भन्ने त्यो खुलाईएको छैन । कतारमा आप्रवासी कामदार हेर्ने खोज तथा अनुसन्धान विभाग, सार्वजनिक सुरक्षा, सामुदायिक प्रहरी, सार्वजनिक क्षेत्र, रंगशालाको सुरक्षा हेर्ने विभाग छन् ।
कतारले नेपालीलाई प्रहरी सेवामा भर्ना गर्ने निति भर्खरै लिएको हो । छनौट भने नेपालका पाँच म्यानपावर कम्पनीमार्फत् गरिएको छ । उनीहरुलाई कतारमा काम गर्न बैदेशिक रोजगार विभागले श्रमस्वीकृति दिएको छ । नेपाली दूतावासका अनुसार कतारको आन्तरिक मन्त्रालयले कामदार ल्याउने सबै प्रक्रिया पूरा गरेको जनाएको छ । शनिबारको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।
वि.सं.२०७६ फागुन २४ शनिवार ०८:५५ मा प्रकाशित






























