
आम रुपमा महिलाहरू
जव प्रेम कविता लेख्छन्
त प्राय जसो,
ती भावुकताले भरिपूर्ण
र बनावटी हुने गर्छन्
किन कि-
जुन कुरा ती लेख्न चाहन्छन्
लेखेर मन हलुका पार्न चाहन्छन्
ती कवितामा ती कुनै कुराहरू हुदैनन्
त्यसैले प्रेम कविता लेखिसकेपछि
उनीहरूको मन अझ भारी, र उदास हुने गर्छ !
महिलाहरू
जब आफ्नो कुनै सच्चा प्रेमीकै लागि
प्रेम कविता लेख्छन्
तै पनि, चाहेरै पनि
त्यसमा सारा कुरा यथार्थ लेख्दैनन्!
सायद ती जोसँग प्रेम गर्छन
उसलाई दुखी हुन दिन चाहदैनन्
या सायद ती
ऊमाथि पनि पूरा भरोसा गर्दैनन्,
या सायद ती
आफ्नो जिन्दगीको कुरुपता
कसैसँग खोलेर
अझ बढी असुरक्षित हुन चाहदैनन् ,
या अझ सायद,
ती स्वयं कपट गरेर कुनै अदृश्य
अत्याचारीसँग बदला लिन चाहन्छन् !
महिलाहरू कैयन पटक
यो डरले सच्चा प्रेम कविता लेख्दैनन् कि
ती कविता
यस्ता लामा शोकगीत बन्ने छन्
दिग-दिगन्तसम्म गुञ्जन पुग्ने छ कि
एउटा लामो विलौना
यस्तो उनीहरूलाई लाग्छ !
महिलाहरू चाहन्छन् कि
एउटा यस्तो साँचो प्रेम कविता लेखौं
जसमा
मनका सारा छाडापनहरू र कल्पनाहरू,
उडानहरू,आफ्ना सारा कृतघ्नता
र पश्चातापहरूको
सपाट बयान मात्र नहोस,
बरू यो पनि होस कि-
बच्चीदेखि लिएर तरुनी होइन्जेलसम्म
कहिले, कहाँ(कहाँ,
अँधेरोमा , भिडमा, एकान्तमा,
सुनसानमा, होहल्लामा,
यात्रामा , घरमा,
रातमा, दिनमा,
कस-कसले उनलाई
दबायो, समायो, रगड्यो, कुल्च्यो
घिसार्यो, ताछ्यो, पिस्यो, कुट्यो र पछार्यो
र कतिले कति-कति पटक
उनलाई झुक्यायो, धोका दियो
उल्लू बनायो, चरका पढायो,
पाठ सिकायो र मोलमोलाई गर्यो !
महिलाहरू प्रेम कविताहरू लेखेर
शरीरभन्दा बढी
आफ्नो आत्माका सारा
दागहरू र धब्बाहरूलाई देखाउन चाहन्छन्
तर त्यसको विनाशकारी परिणाम सोचेर
सम्हालिन्छन !
महिलाहरू प्राय प्रेम कविता
भावनाको लापर्वाह प्रदर्शनको रुपमा हैन
बरू वाँच्ने एउटा तरिका,
या साधनको रुपमा लेख्छन् !
अनि गजवको प्रेम कविता लेख्ने
दावा गर्ने जो कलम-धुरन्धर छन्
ती यथार्थमा
कुनै अरु नै चिजलाई प्रेम भनेर बुझ्छन्
अनि सारा उमेर
यही भ्रममा वाँचेर सकिन्छन् !
यदाकदा अपवादस्वरूप,
कोही समृद्ध-कुलीन महिलाहरू
शक्तिशाली हुन पुग्छन्
ती प्रेम गर्नका लागि
एक या एकाभन्दा बढी
पुरुषलाई पाल्छन्
या त थुप्रै पुरुषहरू नै
उनीसँग प्रेम गर्नलाई लालायित हुन्छन् !
ती महिलाहरू पनि
उमेरको एउटा खास समय
लहै लहैमा सबै कुरा गरिसकेपछि
प्रेमको अभावमा
बचेको सारा उमेर तड्पेर बस्छन्
र त्यसको असुली
प्रसिद्धि, सत्ता र
सम्भोगबाट गरिरहन्छन् !
साँच्चो प्रेम कविता लेख्नको लागि
महिलाहरू यथार्थवादी हुन चाहन्छन्
तर वाँच्ने कुराको वाध्यताले
उनीहरूलाई या त छायावादी बनाइदिन्छ
या फेरि उत्तर-आधुनिक !
जुन कुरा पाइदैन
त्यसलाई उत्तर सत्य मान्दा
अलिकति राहत त मिल्छ नै !
सोच्ने गर्छु,
एस.एम.एस. र व्हाट्सअपले
जसरी प्रेम(पत्रहरूको अन्त गरिदियो
त्यसै गरी त्यस्तो कुनै लहर पनि आउला,
जसले
नक्कली प्रेम कविताहरूको
पाखण्ड पनि मेटिएला
र संसारका ती कुरूपताहरू
थोरै अझ नाङ्गिएलान !
जसलाई मेटाउनु पर्ने छ
प्रेम कवितहरूमा
सच्चाई र प्रेमलाई
प्रवेश दिनको लागि !
वि.सं.२०७६ चैत २३ आइतवार १८:१० मा प्रकाशित