२५ चैत्र, काठमाडौँ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको छ । सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसनलाई देखिएको कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू ‘खराब’ भएपछि उनलाई अस्पतालको सघन उपचार कक्ष(आइसियु)मा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
विविसि नेपाली न्यूजका अनुसार ‘सोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रीयो र उनको चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ।’५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।
एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको र उनको ‘राम्रोसँग हेरबिचार भइरहेको’ समाचारमा जनाइएको छ । ।
महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ। गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता एकान्तवासमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा थिए।’
आवश्यकता परेको खण्डमा उनी भेन्टिलेटरको नजिक हुनसकुन् भनेर उक्त निर्णय लिइएको बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गले बताएकी छन्।
प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई जहाँ आवश्यक पर्छू त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले बताएका छन्।
वि.सं.२०७६ चैत २५ मंगलवार ०७:५३ मा प्रकाशित






























