०३२ सालको कुरो हो । म बिराट नगरबाट घर फर्किदै थिएँ । झापाबाट म पैदलै हिडेर इलाम पुगें । म सोझै रत्न कुमारको डेरामा पुगे । केहि महिना अघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुंगबाट आउदा त्यहाँ निस्की सकेका थियौं । त्यसो त हामी पहिला नै ‘झापाली’ भई सकेका थियौं ।
कोठामा छिर्ना साथै मैले भारी बिसाएन् र हात मिलाउन थालें । कर्याप्प हात समातेर ‘ुतपाई थाक्नु भाको होला, एकछिन आराम गर्नोस््’ रत्नले मसिनो तर उहीं आत्मीय भावले भने ।
त्यहाँ रत्न कुमार, गणेश राई र बसन्त पराजुली कोठा भित्रै थिए । म भने छोरी माईत आए जस्तै फुरुंग थिएँ । आत्मियता जो थियो । मलाई यी तीन जना त्रिरत्न जस्तै लाग्थ्यो । उस्तै उमेर, हित्तचित्त मिलेका, खाई लाग्दा त थिए नै, त्यो भन्दा बढ्ता उनीहरुको अनुहारमा निश्छल समर्पण प्रष्टै देखिन्थ्यो । आजभोलि जसलाई ‘व्यवहारवादी’ राजनीति भनिन्छ र ‘मालिक र कारिन्दा’ को व्यवहार गरिन्छ त्यसको कहीं कतै नामोनिसाना थिएन । लाग्थ्यो हामी एउटै आमाका लाम्टा चुसेका हौँ । नि मनमनै गमथे, ‘मेरो सानो समर्पण गलत ठाउँमा छैन, यिनीहरु मिशनका पक्का जोधाहा हुन्, बस, मलाई के चाहियो !’
रत्न कुमार बाँकी दुई जनाका पनि अगुवा त छँदै थिए । ‘शिल र समाधि’ मा उस्तै भए पनि ‘प्रज्ञा’ मा उनि माथिल्लो कोटीका थिए । अहिले लाग्छ, उनको समर्पण नै ‘प्रज्ञा, शिल र समाधिुको फ्युजन हो ।’ निजात्मक उन्नयनको छक्कापन्जा या सुतिखेती थिएन । म त्यहाँ बस्दाबस्दै उनले धेरै जनासंग संवाद चलाए ! कोही अलिक पाका, कोही तरुण तर ती म भन्दा प्रौढ थिए । बेलुका संगै खाना खायौं । खाना उनैले बनाए । अनि हामी हाम्रो ‘ब्युजिनेस’ मा लाग्यौं । विधार्थी आन्दोलनको चर्चा गर्यौं । कम्युनिष्ट आन्दोलनको नयाँ शिराको चर्चा गर्यौं । ‘झापा विद्रोह’ ले प्रसस्त गरेको बाटोमा छलफल चलायौं । पार्टी विस्तारका सम्भावनाका कुरा । ‘यता त उत्साहजनक प्रगति भईरहेको छ । ताप्लेजुङ्गको निम्ति के गर्नु पर्ला ? ! उनले यो पनि भनेका हुन्मा । माओ त्सेतुङ्गलाई उद्धृत गर्दै ‘क्रान्ति कार्चोपी भर्नु होइन, न त भोज भतेर गर्नु नै । बिना समर्पण र बिना बलिदान आस गर्नु पनि मिथ्या हुन्छ । क्रान्तिको आफ्नै विज्ञान हुन्छ ।’ उनि बोल्दै गर्दा म भने आफ्नै अघिल्तिर क्रान्तिको घोडा दौडदै गरेको सपना देख्दै थिएँ ।
अलिक अघि मात्रै म बिराटनगर क्याम्पसबाट ‘रेस्ट्रिकेट’ भएको, ४ वर्ष अघि SLC मा पनि । आफ्नै जीवनले भन्थ्यो, यो शासन अधम छ । बदल्नुको विकल्प छैन । हेलिनु पर्छ क्रान्तिमा । उनि मलाई ढाडस दिदै थिए । यो सत्ताको बल नै अत्याचार हो । हामी अबेरसम्म विमर्शमै रह्यौं । भोलिपल्ट विहानै म लागें आफ्नै दर्गादिशा । यो नै मेरो रत्न कुमार बान्तवासंगको अन्तिम भेट थियो । त्यसको तीन वर्ष पछि म काठमान्डूमा रहँदा भरतले दुखद् समाचार सुनाए । ‘कमरेड रत्न कुमारको सहादत भयो ।।’ म खग्रंग भएँ । नेपाली कम्युनिष्ट आन्दोलनका एक नक्षत्रको अस्त भयो । आजभोलि काठमान्डूमै छु । अक्कल झुक्कल सोनाम साथिुलाई भेट्छु । उनलाई देख्दा अनायास म आफैलाई उहीं इलामको झझल्को आउँछ (आज उ सत्ता त छैन तर रत्न कुमारहरु हराउन थालेका छन्। )
आज उनै अमर शहिद रत्न कुमार बान्तवाको जन्म दिन तथा स्मृति दिवस ! हार्दिक श्रद्धान्जली तथा लाख लाख नमन, कमरेड रत्न कुमार बान्तवा !
अप्रिल ९, २०१६
वि.सं.२०७६ चैत २७ बिहीवार १०:४९ मा प्रकाशित





























