वैचारिकताको साम्राज्यमा
कुठाराघात हुन्छ जब,
तार्किकताको गोलमेचमा
स्वतन्त्रता निभ्छ जब,
एक एक अनेक
निचोरिएका आवाजहरु
असरल्ल हुन थाल्छन् ।
असरल्लताको सम्बोधन पनि
दमनको आशयमा हुन थाल्छ जब
नचाहँदा नचाहँदै पनि
कम्प छुट्न थाल्छ ।
जुन कम्प
ऐतिहासिक कम्प बन्छ ।
युग युग स्मरण गरिरहनु पर्ने
नचाहेर पनि सम्झनुपर्ने
त्यसैले त,
वैचारिकता अनि तार्किकताको
उपस्थिती अनि
मन्थन हुन जरुरी छ ।
दमित आशयले होइन
उदारताले
कुरोको होइन,
चुरोको विश्वासलाई ।
खेलको होइन,
मेलको नीतिलाई ।
जब कि
तिम्रो हो सम्बोधनलाई
हाम्रो सम्बोधन हुन
नहिच्किचाउन् निर्णयहरु,
नहोस् दमन आवाजहरुको ।
आवश्यकताबाट आवाज,
समस्याबाट आवश्यकता,
दमनबाट विद्रोह,
विद्रोहको प्रारम्भिकता पनि आवाज
अनि आत्महत्याको अभिप्रायले
हत्या हुन्छन् जब आवाजहरु ।
हत्याको बदला,
विरुद्धताको गोलमेच ।
सही आशयहरुको हत्या, मृत्यु
अनि बन्छ कित्ता
शुरुवात विष्फोटको
ज्वालामुखी, सुनामी
भागाभाग,दौडादौड
स्मरणीय बन्छ ।
जसको कारक,
न तिमी हुन्छौ ।
न म हुन्छु ।
न उ हुन्छ ।
सबैमा भलैको
अभिमान हुन्छ
त्यसैले त
नहोस् दमन आवाजहरुको ।
आवाज अनि विचारहरुको,
सम्मान गर्न
आवाजहरुको विश्लेषण गर्न
हाम्रा इन्द्रियहरु,
शतप्रतिशत छन् छैनन् ?
निर्देशन पाए पाएनन्
आफ्नै इन्द्रियहरुको आफैद्वारा
अनुगमन भयो ?
कित्ता हिसाबले
चेतनामा खग्रास लागेको भए
ग्रहणको पनि समय सीमा हुन्छ नि
अनि त संसार खुल्छ नि ।
समाज बोल्ने तन्त्र,
देश बोल्ने तन्त्र
चाहिएको छ ।
दर्शन चाहिएको छ ।
यौटा गन्थन अनि यौटा मन्थन
चाहिएको छ ।
अनि त,
नहोस् दमन आवाजहरुको ।
सूर्योदय न.पा. ७ गोगने,कन्याम,इलाम
वि.सं.२०७६ चैत २९ शनिवार ०९:०५ मा प्रकाशित






























