एउटा कालो रात
लम्पसार परेर सुतिरहेको छ
फूलमायाको अगाडि
ऊ अर्धनग्न अवस्थामा छे
अर्ध वेहोस अवस्थामा छे
ऐंठन भएको छ अंग अंग
ऊ एकतमास भएकी छे
हाँस्नलाई बिर्सिसकेकी छे
रुनलाई पनि आँसु रित्तिसकेको छ
आफ्नै जीवनको कथा लेखिएको
एउटा अध्याय च्यातेर धुजाधुजा बनाउने
मन छ उसलाई
सपना हुँदोरहेछ हरेकको
चाहे झाँसीकी रानी होस्
चाहे एलिजावेथ
चाहे फूलमाया नै किन नहोस्
अरुका आँखामा रङ्गिन सपना होलान्
तर रङ्गबिहिन सपना नै सही
फूलमायाका पनि सपनाहरू थिए
ती सपनाहरू प्रत्येक दिन
बलात्कृत हुन्छन्
उसको चाहनाको कुनै मोल हुँदैन
तप्प तप्प चुहिन्छ रगतको आँसु
आफ्नो पाठेघरमा थापेर
हृदयबिहीन विर्य
ऊ सधैँ सधैँ उष्णतामा कृतघ्न भैदिन्छे
बाँकी उसका चाहहरू
बेहिसाब छट्पटाइ रहन्छन्
अब
ऊ यो विर्यको आहालबाट
बाहिर निस्कन चाहन्छे
चाहन्छे पसारिएको कालो रातलाई च्यातेर
उज्यालो बिहान ल्याउन ।
वि.सं.२०७६ चैत २९ शनिवार ०९:१५ मा प्रकाशित