खेतिपाति लगाउने समय भिड्कँदै गएकोले, कृषि सामग्री आपूर्तिको लागि कृषि सहकारी, एग्रोभेटको साथै समुहहरुलाई दैनिक निश्चित समयसीमा तोकी व्यवस्थित किसिमले कारोबार गर्न स्वीकृति दिन आवश्यक देखिन्छ । यसको अलावा, कृषि उत्पादनका सामग्रीहरु र कृषि उपजहरु पनि सहज रुपमा ढुवानीको लागि हालको परिस्थितिमा सरकारी सयन्त्रबाट नै विशेष व्यवस्था हुन जरुरी छ । हैन भने कोरोनाभन्दा अर्को ठूलो महामारी भोकमरी लाग्नेछ ।
चीनको हुवई प्रान्तको वुहान शहरबाट फैलन शुरु गरेको कोरोना भाईरस (कोभिड १९) को प्रकोप आजका दिनसम्ममा २१० देशहरुमा फैलिसकेको छ । विश्वमा यस महामारीबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन वृद्धि भई मिति २०७६ चैत्र मसान्तसम्म जम्मा १,७७५,२१० पुगेको छ । यसमध्ये मृत्यु हुनेको संख्या १०८,५४४पुगेको छ भने उपचारपछि घर फर्कनेको संख्या ४०१,५१७ र अन्य बाँकी व्यक्तिहरु उपचारकै क्रममा छन् । नेपाल पनि यसबाट अछुतो रहन सकेन र हालसम्म संक्रमि तहुनेको संख्या ९ पुगे तापनि एकजना भने उपचारपछि घर फर्किसकेको र अन्यअझै उपचारको क्रममै छन् ।
यो रोगको उपचारको लागि कुनै औषधी नभएकोले चीनले गरेको सफलतालाई मध्येनजर राखी नेपालले पनि लकडाउन (बन्दाबन्दी) सुचारु गरिराखेको छ । यो बन्दाबन्दीले गर्दा मानिस तथा घरपालुवा पशुपन्छीको दैनिक खाद्य तथा पोषण व्यवस्थापनमा त समस्या छँदैछ । अझयसको बढी मार त दैनिक ज्यालादारीमा जीविकोपार्जन नागरिक र उनीहरुका आश्रित परिवारहरु पर्न गएको छ ।
यसको अलावा, कृषि पेशामा आश्रित ६५ प्रतिशतभन्दा बढी कृषकहरु र व्यवसायिक रुपमा अगाडि बढ्दै गरेका व्यवसायहरु पनि धरासयी बन्दैछन् । एक त देशमा खाद्य संकट पैदा हुँदैछ भने अर्कोतर्फ उत्पादित उपजहरु जस्तै तरकारी, दूध, कुखुरा पनि बिक्रीवितरण गर्न नपाएर खेर गएको अवस्था छ । कतिपय दूग्ध व्यवसायीहरुले दूध जमीनमा पोखेका छन् भने कतिपय कुखुरा व्यवसायीहरुले कुखुराको चल्ला वाब्रोइलर नविकेर वा दाना नपाएर जमीनमा पुर्न वाध्य वनेका छन्, तरकारी व्यवसायीको तरकारी कुहिएर जान थालेपछि बारी नै जोत्न थालेका छन् । तर कतिपय समाजसेवी कृषक तथा कृषि व्यवसायीहरुले भने आफ्ना बिक्रीवितरण गर्न नसकेको कृषि उपजहरु कोभिड १९ को काममा खट्ने सुरक्षाकर्मी लगायत अन्य व्यक्तिहरुलाई वितरण गरी गुन लगाएका छन् ।
यसको अलावा, कोभिड १९ बन्दाबन्दीले बीउबिजन उत्पादन तथा बिक्रीवितरणमा पनि केही चुनौतिका पहाडहरु खडा भएका छन्, जस्ले गर्दा आगामी वर्षमा भोकमरीको समस्या उत्पन्न हुने स्थिति देखिन्छ ।किनकि, कृषितथा पशुपन्छी मन्त्रालयको अनुसार, नेपालमा खाद्य सुरक्षाका बालीहरु जस्तै धान, मकै, गहुँ, कोदो, जौ र फापरमध्ये मुख्यतीनबालीहरु धान, मकै र गहुँको हालआ.व. २०७३÷७४ को उत्पादन र उत्पादकत्वको अवस्था हेर्दा धानको उत्पादन ५२,३०,३२७ मे.टन र उत्पादकत्व ३.३७ मे.टन प्रति हेक्टर, मकैको उत्पादन २३,००,१२१ मे.टन र उत्पादकत्व २.५६ मे.टन प्रति हेक्टर रहेको छ भने गहुँको उत्पादन १८,७९,१९१ मे.टन र उत्पादकत्व २.५६ मे.टन प्रति हेक्टर रहेको छ । यो उत्पादकत्व अन्य छिमेकी देशहरुको भन्दा कम हो । त्यसैले गर्दा, एफएओको तथ्यांक अनुसार, नेपालको खाद्य सुरक्षामा परनिर्भरतामा वृद्धि भई वार्षिक रुपमाधान, मकै र गहुँमात्रैे करिब रु.४५.५१ अरब भन्दा बढीको आयात गरेर ठूलो रकम विदेसिएको छ ।
त्यस्तै गरेर, बढी उत्पादन दिने स्थानीय आवह वा सुहाउँदो जातहरुको गुणस्तरीय बीउ बिजनको समयमै उचित परिमाणमा सहज रुपमा परिपूर्ति गर्न सकेको खण्डमा मात्र पनि बालीको उत्पादकत्व तथा उत्पादनमा २५ देखि ३० प्रतिशतले वृद्धि गर्न सकिने भएता पनि हाल नेपालमा गुणस्तरीय बीउबिजनको आपूर्ति अवस्था निकै नै दयनीय छ । त्यसैले, हाम्रो बालीको उत्पादकत्व कम भइरहेको छ । किनकि, हाम्रो देशको मुख्य खाद्यान्न बाली धान, मकै र गहुँको बीउबिजन प्रतिस्थापन दर १५ प्रतिशतको हाराहारीमा छ । यसको मतलव हामीले औपचारिक रुपमा वितरण गरेको बीउबिजनजम्मा १५ प्रतिशतको हाराहारीमा पर्दछ भने बाँकी ८५ प्रतिशत किसानहरुले नै व्यवस्था गरेका कम गुणस्तरको बीउ पर्दछन् । नेपालमा बीउको माग परिपूर्तिको लागि प्रत्येक वर्ष ठूलो परिमाणमा औपचारिक तथा अनौपचारिक माध्यमबाट आयात गरिन्छ । आ.व. २०६८।६९ मा बीउबिजन व्यवसायी संघले गरेको समग्र बालीहरुको बीउबिजनको आयात स्थिति हेर्दा २१९४ मे.टन मध्ये ७८ प्रतिशत बीउबिजन अनौपचारिक तथा अवैध माध्यमबाट आयात भएको देखिन्छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहर भवनको अनुसार, औपचारिक माध्यमबाट २०७५।७६ मा आयात गरिएको धान, मकै, तोरी, र तरकारीको करिब रु. १.२७ अरब बराबर रकम खर्च गरी करिब १८५९ मे.टन बीउआयात गरेको देखिन्छ । त्यसैले, किसानको लागि आयातित बीउबिजनमा भर पर्नुपर्ने अवस्था भएकोले कोरोनाको बन्दाबन्दी समयमा यो एक जटिल चुनौति आउने देखिन्छ ।
यसरी, औपचारिक माध्यमबाट आयातगरिएको खाद्यान्न तथा बीउबिजनको अवस्था मात्र हेर्दा पनि वार्षिक करिब रु. ४६.७९ अरब बराबरको देखिन्छ । तर निर्यात भने खाद्यान्नतथाबीउबिजनमान्युनप्राय देखिन्छ ।त्यसैले, कोरोना भाईरस बन्दाबन्दी (लकडाउन) को प्रत्येक्ष असर कृषि क्षेत्रमा पर्ने देखिन्छ । यदि हामीले यो वर्ष व्यवस्थित किसिमले आवश्यक मात्रामा गुणस्तरीय बीउबिजन वा खाद्यान्न उत्पादन गर्न नसकेमा आगामी दिनहरुमा यो अवस्था अझै विकराल बन्ने स्थिति देखिन्छ ।
हाल किसान तथा कृषि व्यवसायीहरुलाई हिउँदे बालीहरु भित्र्याउने क्रममा छन् भने हिउँदको मौषममा लगाइएको मकै तथा गोलभेँडा भने फूलखेल्ने अवस्थामा छन् । बन्दाबन्दीको कारण यातायात ठप्प छन् भने मानिसको चहलपहल पनि रोकिएको कारण हिउँदे बाली गहुँ, मुसुरो र तरकारी बाली थन्क्याउने काममा बाधा पुगेको अवस्था छ । कतिपय तराई क्षेत्रका व्यवसायिक किसानहरु खेति लगाउने, गोडमेल गर्ने र थन्क्याउने समयमा एक स्थान वा जिल्लाबाट अर्को स्थान वा जिल्लामा तथा भारतबाट सहित ज्यामीहरुको व्यवस्था गरी कार्य सम्पादन गर्ने चलन थियो । तर बन्दको कारणले यसमा समस्या पैदा भएको छ । यदि पानी परेको खण्डमा थन्याउन बाँकी रहेको बीउ तथा अन्नको गुणस्तर खस्कने अवस्था छ वा कतिपय अवस्थामा थन्क्याउन नभ्याउने अवस्था पनि आउन सक्छ । त्यस्तै गरेर, यातायात साधन चलाउने समस्याले गर्दा उत्पादिन बस्तु खलियान वा भण्डारणसम्म लैजान पनि समस्या परेको स्थिति देखिन्छ ।
अर्को महत्वपूर्ण पाटो त नेपालका केही बीउबिजन कम्पनी तथा सहकारी संस्थाहरु भरखर कृषि अध्ययन तथा अनुसन्धान कार्य र हाईब्रीड मकै तथा गोलभेडा बीउ उत्पादनमा लागेको कारण अहिलेको बन्दाबन्दीले उनीहरु त झन् धेरै मर्कामा परेको स्थिति छ । हाल उनीहरुले आफ्नो अनुसन्धान फार्ममा लगाएको बालीहरु उचित किसिमले हेरचाह पु¥याउन सकेको अवस्था छैन भने अहिले हिउँदे मकै तथा गोलभेडा बीउ उत्पादन कार्यको परसेचनको बेला भएकोले मानिसहरुबाट मकैको सम्पूर्ण पोथी बोटहरुबाट चमरा हटाउन पर्ने स्थिति र गोलभेडामा ईक्यास्कुलेशन गरी पोथी बोट तथा फूलहरुमा भालेको परागकणबाट क्रसिङ् गर्ने समय भए तापनि यातायातको कारण हाईब्रीड बीउ उत्पादकहरु चिन्तित छन् । किनकि, उनीहरुलाई निरन्तर क्रसिङ्को काम नसकेसम्म बीउ उत्पादन क्षेत्रमा आवत जावत गरिरहन पर्नेछ । तर कतिपय प्रदेशमा गाडी पास दिए तापनि २–३ दिन गर्दै पटके पास दिने कार्यले यति महत्वपूर्ण समय गाडि पासको व्यवस्था गर्नै समय लागेको स्थिति छ ।लक डाउनको कारण प्रायजसो सरकारी, गैह्र सरकारी तथा निजी क्षेत्रका प्राविधिक कर्मचारीहरु पनि घरमै बसेर काम गर्न पर्ने वाद्यात्मक अवस्था भएकोले फिल्डमा उपस्थिति भएर काम गर्न सकिरहेको अवस्था छैन । त्यसैले, फिल्डमा आएका समस्याहरु पहिचान गरी समाधान गर्न समस्या भइरहेको अवस्था छ । तापनि कतिपय अवस्थामा किसानहरुले बालीमा देखिएका समस्याहरु फोटो खिचेर पठाउने र त्यसको समाधानको उपायहरु अवलम्बन गरिँदै आएका छन् । कतिपय अवस्थामा, रेडियो जिङ्गल, टीभी, फेसबुक, आदि माध्यमबाट पनि जानकारी दिइदै आएको पनि पाइन्छ ।
त्यस्तै गरेर, बसन्ते बीउ तथा अन्न उत्पादन बालीहरु गोडमेल गर्ने अवस्थामा छन् । यसको लागि प्राविधिक रेखदेख, गोडमेल तथा बीउ उत्पादनमा बेजातको बोटहरु हटाउनको लागि ज्यामी व्यवस्थापन, मल तथा विषादी व्यवस्थापन जस्ता कार्यहरु गर्न पर्ने हुन्छ । यसमा पनि समस्या परिराखेको छ । अझ दयनीय अवस्था के छ भने गत वर्षदेखि नेपालमा प्रवेश गरेको अमेरिकी फौजी कीरा जस्ले ३५३ प्रजातिका विभिन्न बालीहरुमा नोक्सान पु¥याउने देखिन्छ ।त्यसमा पनि यो कीराले त मकै बाली पाएसम्म यसैलाई ध्वस्त पार्दछ र मकै उत्पादनमा करिब ३० प्रतिशत जति घट्न जान्छ । कान्तिपुर दैनिकको मिति २०७६ चैत्र ३० मा प्रकाशित अमेरिकन फल आर्मीवर्मसम्बन्धी समाचारमा बाँकेमा २,४५० हेक्टर र बर्दियामा ४,९०० हेकटर मकैमा करिब ८० प्रतिशत क्षेत्रमा फौजी कीरा फैलिएको र नियन्त्रणको लागि विषादिको समस्या देखिएको उल्लेख गरिएको छ ।
तर बन्दाबन्दीको कारण कृषि सहकारी तथा एग्रोभेटहरुसमेत बन्द भएकोले किसानहरुले कीरा नियन्त्रण गर्नको लागि समयमै विषादिको जोहो गर्न सकिराखेका छैनन् । कतिपय अवस्थामा लुकिछिपी व्यक्तिगत सम्पर्कको आधारमा भने व्यवस्था पनि गर्ने गरिएको छ । त्यस्तै गरेर, मलखाद व्यवस्थापनमा पनि त्यस्तै समस्या देखिन्छ । अर्को कुरा बन्दाबन्दीकै कारण कृषि सामग्रीहरु आयात निर्यात ठप्प छ । यातायात व्यवस्थामा भएको समस्याले ज्यामीको व्यवस्था र सामग्री ढुवानीमा समेत समस्या देखिएको छ । यसले गर्दा बीउ तथा अन्न उत्पादनमा प्रभाव पर्न जाने देखिन्छ ।
यो मौषम अब वर्षे बाली लगाउने समय हो । कतिपय उच्च पहाडी र पहाडी क्षेत्रका किसानहरुले मकै बाली लगाइसकेका छन् भने अन्य तल्लो पहाड र तराईका किसानहरुभने अव जमीनको तयारीमा लाग्नुपर्ने स्थिति हुन्छ । कतिपय किसान समुहहरु जग्गा चाक्लाबन्दीको कार्य अधकल्चो अवस्थामा राखेकोले उक्त कार्य नसकी तुरुन्तै बाली लगाउन सक्ने स्थिति पनि छैन ।
त्यस्तै गरेर, कृषि सामग्री (बीउबिजन, मल र विषादि) हरुको व्यवस्थापन गर्ने समय हो । तर बन्दाबन्दीको कारण बीउ उत्पादन कार्यको लागि स्रोत बीउबिजन व्यवस्थापनको लागि ठूलो चुनौति बनेको छ । किनकि, स्रोत बीउ उत्पादन कृषि अनुसन्धान परिषद, बीउबिजन कम्पनी, कृषि सहकारी वा किसान समुहमार्फत गरिँदै आएकोमा बन्दाबन्दीको कारण बीउबिजन ढुवानी गरी बीउ उत्पादकलाई स्रोत बीउ तथा अन्न उत्पादकलाई उन्नत बीउ आपूर्ति गर्ने कार्यमा समस्या परेको छ ।
त्यस्तै गरेर, वर्षे मकै रोप्ने र बीउबिजन र कृषि सामग्री (बीउबिजन, मल, विषादि) को व्यवस्था गर्ने अवस्था छ । तर यो पनि यदि बन्दाबन्दी यथावत नै रहेमा आपूर्तिमा समस्या आउने पक्का पक्कि छ । किसानहरुले एग्रोभेटहरुलाई बारम्बार फोन मार्फत कहिले खुल्छ भन्दै आत्तिएर सोधिराखेका हुन्छन् तर सरकारी निर्णय विना लुकिछिपि बाहेक उनीहरुले गर्नसक्ने केही छैन र धेरै किसानहरु कृषि सामग्रीबाट बञ्चित हुने अवस्था छ । यसले गर्दा, आगामी वर्ष गुणस्तरीय बीउबिजन तथा खाद्यान्न उत्पादनमा कमी आउने र अन्य देशमा पनि उत्पादनमा समस्या भएमा आयातमा पनि समस्या हुने भएकोले बीउबिजन तथा खाद्यान्न सुरक्षाको समस्याले भोकमरी नपर्ला भन्न सकिन्न ।
त्यसैले अन्तमा, कृषि तथा पशुपन्घी विकास मन्त्रालयले लकडाउनको समयावधिमा विशेष किसिमले कृषि सामग्री आयात, उत्पादन तथा आपूर्तिमा सहजता ल्याउने कार्यको थालनी गरिसकेको भए तापनि सक्रियतापूर्वक विभिन्न सरोकार निकायहरुसँग समन्वय राखी अगाडि बढ्न पर्ने टड्कारो आवश्यकता छ । कृषि कार्यमा संलग्न किसानहरु तथा व्यवसायीहरुलाई पनि आफ्नो खेतबारीमा पृथकता दूरी कायमा गरी काम गर्ने वातावरण मिलाउन आवश्यक छ ।
खेतिपाति लगाउने समय भिड्कँदै गएकोले, कृषि सामग्री आपूर्तिको लागि कृषि सहकारी, एग्रोभेटको साथै समुहहरुलाई दैनिक निश्चित समयसीमा तोकी व्यवस्थित किसिमले कारोबार गर्न स्वीकृति दिन आवश्यक देखिन्छ । यसको अलावा, कृषि उत्पादनका सामग्रीहरु र कृषि उपजहरु पनि सहज रुपमा ढुवानीको लागि हालको परिस्थितिमा सरकारी सयन्त्रबाट नै विशेष व्यवस्था हुन जरुरी छ । हैन भने कोरोनाभन्दा अर्को ठूलो महामारी भोकमरी लाग्नेछ । त्यतिखेर त जनताहरुले कोरोनालाई खासै महत्व दिने छैनन् । किनकि, “मर्नै छ भने गोडै तन्काएर मर्ने नि” भन्न थाल्नेछन् । त्यसपछि, सरकारको बन्दाबन्दीको प्रभाव खासै नहुने हुन्छ र कोरोनाले ठूलो जनधनको स्वाहा हुन जानसक्ने सम्भावनालाई नकार्न सकिन्न ।
प्राविधिक तथा विज्ञहरु खेतबारीमा जान नसक्ने स्थिति भएमा मोवाइल एसएमएस, रेडियो, टीभी, अनलाइन बैठक ईमेल, फेसबुक तथा अन्य अनलाइन सेवाहरुको बढीभन्दा बढी प्रयोग गरी बाली अनुसार समयसमयमा आवश्यक प्राविधिक जानकारी दिने ।प्रायजसो कृषि प्राविधिक तथा विज्ञहरु घरमै बसेर आफ्नो तोकिएको जिम्मेवारी पूरा गरिरहेको अवस्था भएकोले उनीहरुलाई स्थानीयस्तरमा प्राविधिक सहयोग गर्नको लागि सरकारी तवरबाटै विशेष व्यवस्था मिलाउन जरुरी छ । यसको अलावा आगामी दिनमा प्राविधिकको समस्या समाधानको लागि अवकासप्राप्त कर्मचारीहरुलाई पनि उसको स्वास्थ्यको अवस्था हेरी उनीहरुकै स्थानीय निकायमा रहने गरी सुविधासहित कामको जिम्मेवारी दिँदा कृषि उत्पादकत्व वृद्धिमा सहयोगी हुनेछ ।
हाल कतिपय किसान समुहहरुले चाक्लाबन्दीको जग्गा सम्याउने कार्य थातिरहेका कामहरु पनि व्यवस्थित किसिमले त्यस्तै गरेर, चाक्लाबन्दी गरिएका क्षेत्रमा विशेष आर्थिक तथा प्राविधिक सहयोग गरी व्यवसायिक रुपमा बीउबिजन तथा खाद्यान्न उत्पादनमा जोड दिई सर्वप्रथम आयात प्रतिस्थानमा जोड दिने र विस्तारै निर्यात प्रवद्र्धनमा जोड दिने ।
यदि हामीले यी चुनौतिहरुलाई समयमै निराकरण गर्न सकिएको खण्डमा यसलाई एक राम्रो अवसरको रुपमा विकास गर्न सकिने अवस्था पनि देखिन्छ । यसको लागि सम्पूर्ण व्यक्ति, राजनीतिक व्यक्तित्व र राष्ट्रसेवकहरु व्यक्तिगत वा राजनैतिक स्वार्थभन्दा माथि उठेर भ्रष्टहरुलाई कारबाहि गर्दै एकीकृत रुपमा अगाडि बढ्न जरुरी छ ।
नयाँ वर्ष २०७७ को पुनित उपलक्षमा यहाँहरु सबैजनामा हार्दिक मंगलमय शुभकामना !
वि.सं.२०७७ वैशाख १ सोमवार १७:५५ मा प्रकाशित





























