१२ बैशाख, काठमाण्डौं । भारतका राष्ट्रपति रामनाथ कोविंदकी श्रीमती (प्रथम महिला) सविता कोविंदले भारतमा तिब्ररुपमा बढीरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आफ्नो ठाउँबाट सहयोग गर्न थालेकी छन् ।
उनले आफ्नै घरमा रहेको सिलाई मशिनले घरमै फेस मास्क सिलाएको उनको फोटो यतिबेला संसारभरी चर्चित बनेको छ । अनि कोरोनाका विरुद्ध लड्न ठूला साना सबै पदमा रहेकाहरुले आ–आफ्नो ठाउँबाट आफूले सकेको र जानेको सहयोग गर्नुपर्छ भन्ने उदाहरण समेत दिएकी छन् ।
आफ्नो पदीय हैसियत अनुसार कोविंन्दले सयौं महिला आफ्नो घरमा राखेर आफूले निर्देशन दिएर लाखौं फेसमास्क तयार गर्न सक्ने हैसियत पनि राख्छिन । तर, उनले आफ्नै हातले मास्क तयार गरेर सबैका लागि उदाहरणीय बनेकी हुन् उनी ।
उनले गत बुधबार राष्ट्रपति भवनको शक्ति हाटम सिलाइ मसिनमा बसेर आफै मास्क सिलाएकी हुन् । उनी आफै पनि एन–९५ मास्क नलगाएर रातो रंगको कपडाको मास्क लगाएको फोटोमा देख्न सकिन्छ ।
उनले बनाएको उक्त मास्क दिल्लीका विभिन्न सेल्टर होममा पठाइने बताइएको छ । उनले संसारलाई यो सन्देश दिएकी छन् कि ‘हरेक मानिस कोरोना भाइरससंग लड्न सक्छ ।’
उनले मास्क सिलाएको फोटो फेसबुकमा अपडेट गर्दै राष्ट्रपति रामनाथ कोविंदले लेखेका छन्, द फस्ट लेडी अफ इण्डिया, श्रीमती सविता कोविंद नयाँ दिल्लीको राष्ट्रपति भवन शक्ति हाटमा फेस मास्क सिलाउँदै । कोभिड १९ का विरुद्ध लड्न सानो योगदान गदै, शक्ति हाटमा सिलाइएको मास्क दिल्लीको आश्रय सुधार बोर्ड (DUSIB )का विभिन्न आश्रयघरमा वितरण गरिने छ ।’
केहीदिन अघि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्ने क्रममा कपडाको मास्क लगाउन अनुरोध गर्दै आफैले पनि काँधमा राखिने गम्छा मुखमा बेरेर टेलिभिजन सामु देखा परेका थिए । उनले धेरै भन्दा धेरै मानिसलाई मास्कको विकल्पमा गम्छा प्रयोग गर्न समेत सुझाव दिएका थिए ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १०:२५ मा प्रकाशित






























