२४ अप्रिल । अमेरिकाको न्यूयोर्कमा कोभिड १९ पछि ११ नेपालीको निधन भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन् ।
नेपाली जनसम्पर्क समिति अमेरिकाले बनाएको कोरोना संक्रमित समुदायका लागि सरकारी सहयोग तथा श्रोत परिचालन समितिका संयोजक समेत रहेका नेम्वाङले कोभिड १९ पछि निधन भएका नेपालीहरूको बारेमा आफूहरुलाई धेरैले सोध्ने गरेका कारण सबैलाई सजिलो होस् भन्दै प्राप्त जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको बताएका छन् ।
उनका अनुसार नेपाली समय २४ अप्रिल बिहानसम्म न्यूयोर्कमा ११ जना नेपालीको निधन भएको छ । जसमध्ये कोरोनाबाट ६ जनाको र अन्य ५ जनाको हृदयघातका कारण निधन भएको हो ।
महासचिव नेम्वाङका अनुसार न्यूयोर्कमा निधन भएका मध्ये अधिकांशको दाहसंस्कारको लागि मेरिल्याण्ड विधानसभाका सदस्य एच.बि भण्डारी(ह्यारी)ले प्रशासनिक सहजिकरणका लागि सहयोग गरेका छन् । केही मृतकको परिवार आफैले दाहसंस्कार गरेका छन् ।
हालसम्म न्यूयोर्कमा कोरोनाबाट निधन भएका नेपाली अनिल सुव्वा लिम्बु (हस्पीटलमा), ङिमा तेम्बा शेर्पा (हस्पीटलमा) राज कुमार थापा(हस्पीटलमा) विष्णु राई(हस्पीटलमा), महेश आमात्य(हस्पीटलमा) र पवन मल्लको(एपार्टमेन्टमा निधन भएको हो ।
त्यस्तै हृदयघातका कारण निधन भएका नेपालीमा अजय छोँचू(हस्पीटलमा), थोक्मे बिष्ट(एपार्टमेन्टमा) राम प्रसाद हाडा (एपार्टमेन्टमा) होम कुमारी राना(ठकुरी) र सोनाम लामाको (एपार्टमेन्टमा निधन भएको हो ।
माथि उल्लेखित निधन भएका १० जना मध्ये कतिको दाहसंस्कार गरिसकेको छ भने कतिको प्रशासनिक प्रकृया सकेर अन्तिम दाहसंस्कारका निमित्त समय कुरिएको छ । केहीको प्रशासनिक प्रकृया पूरा गर्ने क्रममा रहेको हुनाले ढिलो, चॉडो दाहसंस्कार हुने भएकोले बेवारिसे नभएको बुझिएको पनि उनले जानकारी दिएका छन् ।
मुस्ताङका भनिएका मृतक सोनाम लामाको भने हालसम्म आफन्तले दावी नगरेको र उनको मृत शरीर पनि कुन ठाउॅमा राखिएको छ भन्ने कुरा समुदायलाई थाहा नभएको जानकारी प्राप्त भएको उनले बताए ।
वि.सं.२०७७ वैशाख १२ शुक्रवार १०:१७ मा प्रकाशित






























