हरेक दिनहरुले आ—आफ्नै महत्वको स्थान लिएसरी आमाऔंसीको पनि नेपाली समुदायमा छुट्टै विशेषता छ । सम्पूर्ण आमाहरुले आफ्ना सन्ततीलाई यस संसारमा पाइला टेक्ने र यस धर्तीको सुन्दरता देख्ने विशेष अवसर प्रदान गरेको भन्दै आमाऔँसीमा सम्पूर्णले आमाप्रति आभार प्रकट गर्ने गर्दछन् । सम्भव हुनेहरुले आमाको चरणमा परी पूजाआजा गर्दै आमालाई उपहार तथा मिष्ठान्न भोजन गराउँदछन् । आमाबाट टाढा रहनेहरुले आमाको स्मरण र उहाँको सुख शान्तिको कामना गर्दछन् तर यस संसारभरि नै अदृष्य आमाहरुका सन्ततीहरुले भने आजको दिनमा विलाप गर्दछन् र त्यही बिलौनाबाट मुक्ति पाउन मातातिर्थ गई आमाको स्मरण गरी उहाँको आत्माशान्तिको कामना गर्दछन् तथापी आजको विषम परिस्थितीमा त्यसको स्थानपनि केहीहदसम्म सामाजिक संजालले लिएको पाइन्छ ।
हामीले हिजो धुमधामसंग आमाऔशि मनायौ । यसपटकको आमाऔंसीमा आमालाई स्मरण गर्न एकाविहानैदेखि मानिसहरुको भावनाको त तछाडमछाड जस्तै देखिन्थ्यो जसमा बन्दाबन्दीको विश्वव्यापी असरलाई पनि पछि नै पार्छ जस्तो देखियो । यही लहरमा केही छोरीहरु आफू पनि आमा भएकोमा आमा सम्मानमा आफैँलाई सर्वश्रेष्ठ पात्र ठान्दै थिए त कोहीनिकै उत्साहित थिए, छोराहरु आफू पनि आमा सम्मानका उत्तिकै दावेदार मान्दै मुस्कुराउँदै आमाकै अघिपछि उमङ्गित थिए भने बुहारीहरु पनि छोरीसरी नै रहको आभाष गराउँदै थिए । ज्वाईँहरु आमाको सँगसँगै सासुआमाको गरी एक जोर तस्वीरहरु सामाजिक संजालका भित्तामा कैद गर्दै थिए । केहीले लेख्दै थिए, ‘आमा अव केवल सम्झनामा मात्र !’
आमाऔंसीको सोही अवसरमा लाग्दैथियो सन्तानले गरेको भक्तिदेखि आमाहरु प्रशन्नभई कतै फिस्स हाँस्दै पो छन् कि ! सन्ततीकै लागि ठूल्ठूला सपना देख्ने आमाहरु यथार्थमा रुमलिदै पो छन् कि ! कोही अभिव्यक्तिको भाषा नबुझि टोलाउँदै पो छन् कि ! केहीआमाहरु इश्वर नै मेरो सबथोक हो जे गर्छ परात्माले नै गरोस् भन्दै भावविह्विल पो हुँदैछन् कि कतै ! तसर्थ तस्वीरको दृष्टि र मानविय सम्वेदना तथा वास्तविकता सँगकत्तिको तालमेल खान्छ भन्ने कुराले महत्व पाउन भन्दापनि गुम्सिएका मनोभावना सहितहालको विश्वव्यापी महामारीबाट कसरी सुरक्षित रहने भन्ने कुराले पश्रय पाएको पनि हुन सक्छ ।
प्राप्तिभन्दा बढी समर्पणमै लागेकी आमालाई हामीवर्षमा एक दिन ह्याप्पीमदरर्स डे मन्त्रले अभिव्यक्ति दिन्छौ तर हामीले त्यो मन्त्रको अर्थ के हुन्छ भनेर आमाहरुलाई स्पष्ट रुपमा बुझाउन विर्सेका नि हुन सक्छौँ जसको अर्थ केही संख्यामा आमाहरुले आफ्नै अर्थमा बुझिरहनुभएको हुन सक्छ अथवा नदेख्नुभएको नि हुनसक्छ । औपचारिक शिक्षा नलिएका आमाहरुले पनि सन्तानलाई हरेक तह पेशा, ओहदा र सम्मानित तहमा पुर्याउन सक्षम हुनुभएकै हो । उनै आमा हुन् जसले सफल राजनेता, वैज्ञानिक, डाक्टर, इन्जिनियर तथा अन्यपेशा तथा ओहदाको लायक बनाइन् जसको लागि कुनै पनि सन्ततीसँग कुनै सर्त राखिनन् न त बदलावमा केही राखिन् त केवल हार्दिकता तथा असलव्यवहार हो । त्यस्ता व्यवहारहरु सामाजिक सञ्जालमा संरक्षित प्रस्तुतीभन्दा अलिकफरक र महशुष गर्न अपेक्षित हुन्छन् ।
लाग्छ आमाऔँसी मनाउन हरेक दिनकाफी हुन्छ जहाँ सन्तानको सफलतासँगै आमाहरुसँगको हार्दिकता र निकटता कायमहुँदै जाओस् । सम्पूर्ण निश्च्छल र विवेकी आमाहरु अपशब्द र दुव्र्यवहारको शिकार हुननपरोस् । यसको सट्टा गर्व गर्न सकियोस् कि सम्पूर्ण सन्तानको सफलताका दावेदार आमाहरु नै हुन् । त्यसैले संसार चिनाउने आमाहरुको लागि सबैभन्दा ठूलो उपहार बनिदिन्छ सन्तानको सभ्यता र असल संस्कार जहा मानविय भावना झल्किने सच्चा व्यवहारहरु जसले सबै आमाहरुमा आफ्नै आमा प्रतिगरिने भाव प्रकट गर्न सकोस् ।
गाउँ/नगर/राज्यतथा देशबाट प्राप्त परिचय र संरक्षण जस्तै व्यक्तिगत रुपमा एक घर तथा परिवारबाट पुकारिएकी आमा नेपालका सप्पूर्ण आमाहरुलाई एकताबद्ध गर्ने माध्यम माताऔँसी बन्नसक्छ । सम्पूर्ण आमाहरुको चाहना सन्तान नै सुखी र खुशी पार्ने हुन्छ । सबै आमाहरु महान् हुनुहुन्छ र उहाँहरुको सन्ततीप्रतिको देन अतुलनीय छ । तथापी उहाँहरुप्रति गरिएको तुलनामा फरकपन देखिन्छ त केवल परिवेष र विवशताको । गरिबी, अभाव, असहजता लगायतका अन्य कठिन परिस्थितीका बावजद पनि उनै आमाहुन् जसले सन्तानलाई जिवितता प्रदान गर्छिन् र सपना देख्छिन् कि आफ्नो सन्तान हरेक आमाहरुले गर्व गर्न लायक बनोस् । आमा सबै हिसाबले सर्बोच्च अभिभावक र सभ्यताको पनि जननी भएकोले युग तथा प्रबिधि सापेक्ष आमाको सम्मानका तरीका ब्यबहारीक पनि बनाउदै जान सक्नुपर्दछ ।
वि.सं.२०७७ वैशाख १२ शुक्रवार १०:३१ मा प्रकाशित






























