२९ अप्रिल । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका महेश पन्थीको कोरोना भाइरस(कोभिड १९) का कारण निधन भएको छ ।
पन्थीको निधन अप्रिल २८ का दिन बिहान करिव ९।३० बजे भर्जिनियाको फेयरफ्याक्स काउन्टी स्थित इनोभा फेयर ओक्स अस्पतालमा भएको अमेरिकाबाट पत्रकार विजय थापाले जानकारी दिएका छन् ।
परिवारका सदस्यले जनाए अनुसार पन्थी कोभिड– १९ बाट संक्रमित भएसँगै बिगत करिव २० दिन देखि अस्पतालमा भर्ना भएका थिए । उनी भर्जिनिया राज्यको सेन्टरभिल शहरमा श्रीमती, छोरा र छोरीसंग बस्दै आएका थिए । उनले भर्जिनियाको फल्सचर्च स्थित एबिसी पसलमा काम गर्ने गरेका थिए ।
ललितपुर कुपन्डोल निवासी पन्थी बिगत करिव एक दशक भन्दा ज्यादा समय देखि अमेरिका रहँदै आएका थिए । नेपालमा रहँदा उनी फ्रेन्ड्स कल्बका कुशल भकुण्डो खेलाडी थिए ।
अस्पतालले उनको शवलाई परिवारलाई बुझाईसकेको छ भने शव भर्जिनियाको स्यानटिली स्थित अन्त्येष्टि गृहमा ल्याईएको र आगामी शुक्रबारसम्म अन्तिम दाह संस्कार गरिने जानकारी परिवारले दिएको पनि पत्रकार थापाले बताए ।
वि.सं.२०७७ वैशाख १७ बुधवार १०:२३ मा प्रकाशित






























