हे मेरो सरकार ! नेपाली नेता-नायक तथा शासक-प्रशासकहरु हो !! के साँच्चै यहाँहरुले नेपाली भूमि/राष्ट्रको र स्वयं आफ्नो स्वत्व र स्वाभिमान अनि अस्तित्व र अस्मिता जोगाउन खोज्नु भएको हो ? यदी हो नै भने यहाँहरुले यसो गर्ने आँट गर्नैपर्छ ।
१- सर्वप्रथम नेपाली नेता-शासक यहाँहरु सबैले आफ्ना मन-मस्तिष्कमा रहेका सत्तालिप्सा र संकीर्ण स्वार्थ, असहिष्णुता र अहंकार अनि अनैतिकता र कायरता तथा भारत-अमेरिकाजस्ता साम्राज्यवादी–विस्तारवादी शक्तिराष्ट्रहरुका दलाल, दास, दब्बू र दीन-दयाका पात्र बन्नेजस्ता निकृष्ट विचार र संस्कार पूर्णतः परित्याग गर्नुपर्छ । अनि दल र देशका नेता र नायक यहाँहरु सम्पूर्णरुपले सचेत, संगठित, स्वतन्त्र, स्वविवेकी, स्वाभिमानी, स्वाधीन र स्वास्तित्वबोधी पूर्ण देसभक्त हुनुपर्छ ।
यहाँसम्म कि यहाँहरुले पदबहाल गर्दा खाएको शपथ सम्झदै आफूले कहिल्यै कसैमाथि कुनैकत्ती कुभलो-कुकर्म, अर्घेलो-अलाग्दो, अन्याय-अत्याचार, घुस-भ्रष्टाचार र हेला-होंचो नगर्ने र कसैबाट आफूमाथि त्यस्तो भएगरिए नसहने र त्यसका विरुद्ध लड्ने र जित्ने वा जित्न नसके मर्ने तर कुनै हालतमा हैरान मान्ने, हारखाने, हरेस खाने, हीनता मान्ने, र हरामबन्ने नगर्ने अथवा भनौं देशका दुष्ट दुस्मनलाई दरो र दमदार दनक दिने तर कुनै पनि अवस्थामा देसका दुष्ट दुश्मनसँग नझुक्ने, नचुक्ने र नबिक्ने कुरामा भित्री दिलदिमागदेखि दृढप्रतिज्ञ हुनुपर्छ ।
२-अहिले गर्न खोजेझैं संसद भित्रमात्र होइन, संसदबाहिर पनि-देश संसदबाहिरका शक्ति–व्यक्ती आदि सबैको साझा हो, यद्यपि तत्काल कार्यकारी जिम्मेवारीका हिसाबले संसदमा र सरकारमा रहेकाहरुको बढी जिम्मेवारी र भूमिका होला-अनि देसभित्र र बाहिर रहेका नेपाल र नेपालीलाई माया र सहयोग गर्ने सम्पूर्ण देसप्रेमी र न्यायप्रेमी शक्ति-व्यक्ति, संघ-संस्था, विज्ञ-विशेषज्ञ, अभियन्ता-जनता र सामान्यतः सम्पूर्ण मित्रराष्ट्रहरुसँग र विशेषतः हाल हाम्रो त्रिदेशीय सीमानामा समेत समस्या भएको र असल, स्वच्छ र निस्वार्थ सहयोगी घनिष्ठ छिमेकी मित्रराष्ट्र भएको नाताले चीनसङ्ग र वर्तमान नेपाल निर्माणको ईतिहास इष्ट ईन्डिया कम्पनीमार्फत बेलायतसङ्ग जोडिएको नाताले ग्रेट बृटेनसङ्ग वर्तमान नेपाल-भारत सीमा समस्या समाधान गर्नको लागि अनुरोध गर्दै आवस्यक साक्षी, सर्र्ज्मिन समेतका सम्पूर्ण सुझाव-सहयोग लिई एउटा न्यूनतम अन्तर्राष्ट्रिय सहमती बनाउनु पर्छ ।
३- भारतीय हस्तक्षेपको विरोध गर्ने सबै देशभक्त नेपालीलाई गरिइरहेको दमन-धरपकड बन्द गरेर गिरफ्तार गरिएकालाई निसर्त, तत्काल र ससम्मान रिहा गर्नैपर्छ ।
४- लिम्पियाधुरा, सुस्ता र अन्य जम्मै नेपाली हकभोगका स्थानहरु समेटिएको साँचो,पूर्ण र आधिकारिक नेपाली नक्सा तत्काल प्रकासन गर्नैपर्छ ।
५- त्यो नक्सालाई सर्वप्रथम संविधान र निशानछापमा समावेस गर्ने अनि तीनै तहका सरकारहरु, सरकारी/अर्धसरकारी अड्डा-अदालत र कार्यालयहरु, शिक्षण संस्थाहरु, कूटनीतिक नियोगहरु र विदेसस्थित नेपाली दूतावासहरु आदि राज्यका अङ्ग-प्रत्यङ्गहरु सबैमा औपचारिक रुपले ती नक्साहरु अविलम्ब प्रयोगमा ल्याउनैपर्छ ।
६-यती गर्दैगर्दा भारतबाट केही रेस्पोन्स र प्रतिक्रिया भए त्यहीअनुसार गर्ने, नभए तत्काल वार्ताको लागि विषय र समय तोकेर राजनीतिक र कूटनीतिक पहल गर्दै पत्र लेख्ने र प्रधानमन्त्रीले नै फोनगरेर पनि प्रबुद्ध व्यक्तिहरुको समूह भ्एन् को रिपोर्ट तत्काल बुझ्न र सोअनुसार गर्न, कालापानीबाट सेना फिर्ता लैजान, देसैभरका अन्य सम्पूर्ण अतिक्रमित भूमिहरु किटानीसहित त्यहाँ कब्जा छोड्न, र अबउप्रान्त नेपाल र नेपालीमाथि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र फौजी आदि कुनै प्रकारको दवाव र हस्तक्षेप नगर्न चेतावनी दिंदै अविलम्ब वार्तामा बस्न अनुरोधमूलक अल्टिमेटम दिनुपर्छ ।
७-सो समयभित्र प्रतिवेदन पनि नबुझ्ने, फेरिपनि कुनै सकारात्मक रेस्पोन्स नगर्ने वा गरेमा पनि आलटाल, बहानाबाजी, ढिलासुस्ती लगायत अन्य केही नकारात्मक प्रतिकृया गरेमा अर्थात् वार्ता पनि नगर्ने र कालापानीबाट सेना पनि फिर्ता नलग्ने र सम्बन्ध सुधारका कुनै कामकार्वाही नगरेमा सबै घटनाविवरण, तथ्यप्रमाण, साक्षीगवाही, सम्बन्धित क्षेत्रका जनमत आदि आवस्यक सम्पूर्ण सरजाम संकलन, संप्रेषण र सार्वजनिक गर्नुपर्छ ताकि देसविदेशमा रहेका नेपाली र अन्तर्रा्ष्ट्रिय समुदायलाई पनि यथार्थ जानकारी होस् र ती सबैबाट हामीलाई सक्दो सद्भाव–समर्थन र साथ-सहयोग मिलोस् !
८- त्यसपछि पनि भारतीय हैकमवादी, हेपाहा र मिचाहा शासकवर्ग समस्या सुल्झाउनुको साटो उल्झाउने, बल्झाउने र बङ्गाउनेजस्ता हर्कतहरु गर्न लागेमा यसको नतिजा गम्भीर र भयावह हुने र त्यसको जिम्मेवार भारतीय शासक नै हुने चेतावनी दिंदै निश्चित समयसीमाभित्र कालापानीपारि अर्थात् लिम्पियाधुरा नजिकै काली नदीको वल्लो (पूर्वी) तटमा कुटी गाउँतिर सशस्त्रको bop राख्न बाध्य हुनुपर्ने योजनासहितको जानकारी भारतलाई कूटनीतिक र राजनीतिक माध्यमबाट औपचारिक रुपमै दिई सो कुरा सार्वजनिक समेत गर्नुपर्छ ।
९-तत्पश्चात् पनि कुनै सकारात्मक पहल-प्रतिक्रिया नआए कुटीलगायतका आवश्यक सबै अतिक्रमित स्थानहरुमा bop राखेर आफ्नो भूमिको सुरक्षा गर्नुपर्छ ।
१०- यति गर्दापनि कुनै सुनुवाई नहुने वा भएपनि उल्टो दमन-हस्तक्षेपमा उत्रेमा त्यसको राजनीतिक,कूटनीतिक, सामरिक आदि आवस्यक र सम्भव सबै प्रकारको असहमति,अवज्ञा, विरोध,अवरोध र प्रतिरोध गर्नुपर्छ । यस दौरानमा सामान्यतया न्यायप्रेमी भारतीय जनसमुदायहरुको र विशेषगरी भारतस्थित सम्पूर्ण नेपाली-भारतीय नागरिकताप्राप्त र नेपाली नागरिकताप्राप्त) हरुको अत्यधिक र अद्वितीय परिचालनमा विशेष जोड दिनुपर्छ ।
११-यससन्दर्भमा क. माओको यो महाबाणी Reactionaries are paper tigers लाई स्मरण गर्दै समयको अन्तरालसङ्गै सत्य र न्यायले नहार्ने तर असत्य र अन्याय-अत्याचार नफाप्ने अनि सानो र कमजोर ठूलो र बलियो हुने तर ठूलो र बलियो भने सानो र कमजोर हुने कुरामाथि पूर्णविस्वस्त हुनैपर्छ । अस्तु !
शर्मा,नेकपाका केन्द्रीय सदस्य हुन्
वि.सं.२०७७ जेठ १ बिहीवार १३:४९ मा प्रकाशित






























