
२५ जेठ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) बारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक मंगलबार ४ बजेलाई बोलाइएको छ ।
पार्टीमा एमसीसी विवाद भएपछि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ ।
एमसीसीलाई लिएर विवाद बढेपछि यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो । सो बैठकले संसदवाट पारित नभएसम्म एससीसीका काम अघि नबढाउने सहमति गरेको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलकोप्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली भने संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । सचिवालयका अन्य बहुमत सदस्यहरु पनि यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।
नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेश हुन सकेको छैन ।
(फाइल तस्विर)