
म समाजसेवा गर्न मन पराउने मान्छे । जब म कसैलाई सहयोग गर्छु तब सबैभन्दा आनन्दित भएको महसुस गर्दछु । आजसम्म जे जति कामहरु गरेँ, ईमानदार भएरै गरेँ । कर्म गर्दै जाँदा कहिले सफल त कहिले विफल पनि भएकी छु । आज मेरो कर्मप्रतिको लगनशीलता र प्राप्तिको बारेमा केही अनुभूति पोख्दैछु ।
यहीँ जेठ महिनाको २६ गते म बुवाआमाको औषधि किन्न मेडिकल जाँदै थिएँ । बिहादी गाउँपालिकाको कार्यालयमा स्वास्थ्य चौकीको प्रमुख व्यक्तिसँग अचानक भेट भयो । उहाँले केहिदिन अगाडि मैले प्रदान गरेको राहतका विषयमा कुरा गर्न थाल्नु भयो । मेरो नेतृत्वमा सहयोग संकलन गरि राहत स्वरूप रु. ८,००० को खाद्य सामाग्री सहित विहादी गापाको कोषमा रु. १५०० उपलब्ध गराउने वाचा गरेकी थिएँ । भौचर पालिकामा बुझाएर Certificate पाउन सक्छौ भन्दै उहाँले भन्नुभएको थियो ।
म यो कुरा सुनेर निकै खुशी भएँ । तर बिडम्बना मैले तुरुन्तै रु. १५०० कसरी जुटाउने भनेर पिरोलिन थाले । कसैसँग सापट माग्ने साहस आएन । बरु मनमनै कुरा खेलाउन थालेँ । त्यहीँ कुराको चिन्ता लिन थालेको तेस्रो दिन शिक्षा अधिकृतले मेरो First Project को सम्मान एवं पुरस्कार स्वरूप रु. ५००० अकाउन्ट्मा हालिदिएको खबर गर्नुभयो । यो सुन्नासाथ त्यो रु. १५०० वाला समस्या तत्काल सम्झिएँ । कसैसँग सहयोग माग्न नसकेर मनमनै कुरा खेलाएको बेला यो त मेरो लागि भाग्य बनेर चम्कियो ।
‘कर्म गर तर फलको आशा नगर’ भन्ने भनाइबारे म आज छर्लङ्ग भएँ । हामीले राम्रो गर्नसके पनि साथ दिने रहिछन । चुनौतीसंग डराउनु व्यर्थ रहेछ । यो सानो कुराले आज मलाई अझै राम्रो गर्न हौसला दिएको छ । राम्रो गरौं, राम्रो सोचौं । राम्रो हुँदो रहेछ ।