१९ असार । भारतको बिहारमा बिहीबार चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका ७ जिल्लामा बिहीबार चट्याङ परेको थियो ।
बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ । एक हप्ता अगाडी पनि बिहारमै चट्याङ लागेर ९२ जनाको मृत्यु भएको थियो । एक हप्ता भित्रमा बिहारमा चट्याङ् लागेर १ सय १४ जनाको मृत्यु भएको छ ।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको छ ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन ।