
धमिलो हुँदै गएको छ यतिबेला आँखा-
र देखिन थालेको छ–काठमाडौंको वातावरण जस्तै ।
मधुरो हुँदै गएको छ कान-
बिजुली बत्ती जस्तै ।
आफै बग्न थालेको छ नाक-
बर्षातको सप्तकोसी जस्तै ।
लठ्ठीपनि समाउनै छोडेको छ हातले-
हाम्रै देशको सरकारले जस्तै ।
दुईचार पाइला नसार्दै फतक्कै गलेर
बाउडिन थालेको छ खुट्टा-
अहिलेको प्रमुख प्रतिपक्षी जस्तै ।
आफै बाङ्गिएर फर्किएको छ आकाशतिर ढाड-
जाति ,धर्म र क्षेत्रीयताको नाममा
नग्न राजनीतिको ताण्डव नृत्यमा
निमग्न लम्पटदासहरु जस्तै ।
डढेर कालै भएको छ छाला-
नेपालकै नेताहरूको नियत जस्तै ।
छोडिन थालेको छ भित्री कट्टुमै
पातलो दिसा र पहेँलो पिसाब-
रोक्ने मेसै नपाएपछि-तस्करीको ‘माल’ जस्तै ।
सेतै फुलेको छ कुनैबेलाको
सिल्की परेको कालो कपाल-
कासेघारीलाई बिर्साउने गरि ।
मार्फाली स्याउजस्तै राता गाला-
चाउरी परेर बसेका छन्–
बाझो बारीका पाटाजस्तै ।
कलेटी परेको छ–
कुनैबेलाको लाली ओठ ।
हर्सा परेको कालो गिजामात्रै छ-
कालापत्थरजस्तो ।
टलक्कै टल्किने चम्किला सेता दातहरु-
बिस्थापित भैगए-
जलवायु परिवर्तनको असरले
पग्लिएको हिउँजस्तै गरि ।
घरीघरी निहुँमात्रै खोज्न थालेको छ-
यतिबेला आफ्नै उमेरले
‘दुर्वासा ऋषिमन’ भएको छिमेकीले जस्तैगरि ।
कुप्री परेर सुक्दै गएको छ शरीर-
हराउँदै गएका लहरे वरपिपलका
घुमाउने शीतल चौतारी अनि
कुवा, पोखरी, इनार र ढुङ्गेधारासङ्गै
मीठो पानीका मुलहरुजस्तै ।
केही सम्झिनै सकिरहेको छैन आफ्नै दिमागले-
अल्जाइमरले ग्रस्त भएको बूढो नेपाली शासकले जस्तै ।
हराएको छ मलिन मुहारबाट मुस्कान
सधैं सधैंका लागि–-
दिन दहाडै दशगजाको जङ्गे पिल्लर हराए जस्तै ।
लर्बराउदै गएको छ बेलाको बोली-
दोषी भएरै पनि साच्चै
निर्दोष छु भन्ने ‘जन्तु’ को जस्तै ।
कुनै अदृश्य शक्तिले
निरन्तर पछ्याइरहेको छ यतिबेला-
कोरोना भाइरसले जस्तैगरि ।
यो के को र कस्तो संकेत हुनसक्छ कुन्नि …?
वि.सं.२०७७ असार २७ शनिवार ०९:४३ मा प्रकाशित






























