
१ साउन, काभ्रेपलान्चोक । एम्बुलेन्समा यात्रुहरु ओसारपसार गरेको अभियोगमा बा ५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक पक्राउ परेका छन् ।
सर्लाही चन्द्रनगर गाउँपालिका ३ बबरगंज बस्ने ३५ वर्षीय जुगतलाल महत्तोलाई काभ्रे बनेपा नगरपालिका १४ साँगाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगंज सर्लाहीद्धारा संचालित उक्त एम्बुलेन्स प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्समा कुनै बिरामी नरहेको र चालक समेत ८ जना यात्रु रहेको फेला पारेको प्रहरीले जनाएको छ ।
१४ हजार रुपैयाँ भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुरहरु लिई आएको अवस्थामा प्रहरीले चालकलाई पक्राउ गरेको हो ।
एम्बुलेन्स चालक महत्तो उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।