
पहाडसँग मेरो केही लागेन
केवल ठोक्किएर फर्केँ ।
ठूला ठूला ढुङ्गाहरु
बर्सिरहे ममाथि
बर्षादीका दिनहरु
रुज्नु बाहेक
केही रहेन
चुपचाप सहेर
हावासरी फर्केँ ।
गोरेटाहरुको सुन्दर रेखाङ्कन
मेटिएका छन्
जताततै भीर पैह्रोमात्रै
भेटिएका छन् ।
लाग्दथ्यो सुन्दर पहाडको उचाई
स्वच्छ हावाको मिठास
मेरो मनभित्रको रहर
सुख दुःखको प्रहर
आज पूरा हुनेछ
सोचे जस्तो
खोजे जस्तो
रोजे जस्तो
फूल फुल्दै थियो
खेत बारीमा
धान झुल्दै थियो
तर
बेइमानी मौसमरुपी
खेतलाहरुसँग
आज हार खाएको छु ।
मेरो बाध्यता
खेती पाती नथन्काउँदै
बेस्सरी मार खाएको छु ।।
वि.सं.२०७७ साउन १७ शनिवार ०८:४५ मा प्रकाशित






























