
उनीहरूले
गन्तव्य पूरा गरे
समृद्धि र समाजवादको,
भर्याङ बनाएर निर्धालाई
आफ्नै सफलताको शिखर चुमीसके ।
सिद्धान्त र बाचाकसमहरुलाई
मसाने अगुल्टो बनाएर मिल्काइयो
दोबाटोमा ।
अब यहाँभन्दा अझै माथि
बाकी छैन जाने ठाउँ
तल झुक्नु पर्दै पर्दैन
किनकि
दिग्विजयले
फहराइदिएको छ पताका र तुलिका
तिनका आलिसान हवेलीहरूमा ।
तब त
उत्ताउलो उन्माद
अनि बुङ्गो नचरी
तिनका हर्षका क्रिया र प्रतिक्रिया बनेर
देखिदैछ यतिबेला … !
भनिन्छ-
‘एकोन लज्जाम् परित्याज्य सर्वत्र विजय भवेत ः ’
बेपर्वाह नाङ्गा बाबाझैँ
सण्डमुण्ड धुपौरेहरुबाट घेरिएर
तमासा देखाइरहेछन्–यतिबेला
कामकुरो एकातिर, कुम्लो बोकी पैयूँतिर
राष्ट्रिय कार्यभार बेग्लै छ ।
सजिलै नासिएका थिए यदुबङ्शी
हस्तक्षेप गर्नु परेकै थिएन परायाले
आफ्नै रिसारिसले …
सायद गन्तव्य त्यतैको हो कि !
लोकतन्त्र बलियो हुन
दलहरू मजबुत हुनुपर्छ ।
नेता, राजनेता हुन सक्नुपर्छ ।
तब पो राष्ट्र,
राष्ट्र बन्छ ।
तर
हाम्रो दुर्भाग्य !
हामीले न राजनेता पायौं,
न दल सबल बनायौँ,
न त बनायौँ,
सक्षम लोकतन्त्र !
न त माथि उठ्यो
राष्ट्रको ब्यक्तित्व ।
वि.सं.२०७७ साउन १७ शनिवार ०८:४६ मा प्रकाशित






























