
म प्याससित
मितेरी गाँसिरहेको बेला
तिमी नाचिरहेकी थियौ
पानीका फोहरासित
र प्रेमिल त्यो पानी
त्यो चाँदनी मुहारमा
चिप्लेटी खेलिरहेको थियो ।
भिजेको ओठबाट
मदिरा जस्तै तप्केर
पहाडी बाटोको बिचबाट
बगिरहेको पानीको मदहोशी देखेर
मरिजाउँ तिम्रो कस्सम
मलाई पनि पानी पानी भएर
चिप्लेटी खेल्न हुटहुटि जागेको कुरा
कसरी सुनाउँ तिमीलाई ?
पानीको तेज धार
दोभानको त्रिभुजलाई छोएर
आगो लगाइरहेको बेला
मेरो सामु साक्षात सौन्दर्य कि देवी
उभिएकी झैं लागिरह्यो ।
यति बेला म यद्यपि
अदृश्य उभिएको छु
तिम्रै छेऊछाऊ
र नियाली रहेको छु
सासको आरोह अवरोहबिच
छहराको सुसेलीसँगै ।
सोच्दैछु
अब आफ्नो प्यास मैले
आगोले बुझाउँ कि पानीले ?
वि.सं.२०७७ साउन १७ शनिवार ०८:५० मा प्रकाशित






























