back
CTIZAN AD

कविताः राखौं सेवा भावना

वि.सं.२०७७ साउन ३१ शनिवार

903 

shares

ढुङ्गा पूज्छ सदा अनेक विधिले मान्छे विरानो हुने ।
देवी देवहरू रुवाइ घरमा नाता फलानो हुने ।।
राख्छन् वैर सदा निकुञ्ज मनमा प्यारो हुने दुश्मन,
डाँका चोर यहाँ कुपात्र दिलका खाए स्वदेशी धन ।। १।।

कैले सुन्दर बन्छ देश भन लौ हे देशका मालिक ।
गोजी मात्र भरेर यो मुलुकमा बन्छौ सदा शालिक ।।
तिम्रो भ्रष्ट भएछ आचरण त्यो के गर्नु आशा अब ।
थोत्रा भाषणमा उडाइ सहजै नारा हरायौ सब ।। २ ।।

सुन्दा लाग्छ अचम्म घोर विपदा आयो अरे देशमा ।
भो सन्त्रास यहाँ निरन्तर जसै जाग्यो नयाँ भेषमा ।।
बाधा अड्चन छन् भए न भरका सातो लिने खालका ।
पीडा भार अँझै लिलाम नहुने समृद्ध नेपालका ।। ३ ।।

माथा माथ हिमालको शिरछुने बेसी तराई तल ।
बग्छन् वेग समान धार निफली खोला नदी निर्मल ।।
लाग्ने प्यास झनै अतृप्त मनमा खोला अहा कल्कल ।
पारौं देश समस्त यो भुवनमा प्यारो निकै झल्मल ।। ४।।

थुङ्गा फूलहरू टिपेर घरमै पूजा गरौं हर्षले ।
बा आमा भगवान तुल्य निजको सेवा गरौं धर्मले ।।
माया मोह उसै छ व्यर्थ करुणा राखौं दया भावना ।
हाँसौ स्वार्थ भगाइ मुस्किल हुँदा बाँडौ भलो कामना ।। ५।।

आफ्नै भाग्य सुधार गर्नु जहिल्यै आभा छरी सुन्दर ।
अर्काको हितमा समर्पित हुने को नै यहाँ हुन्छ र ।।
दानी सज्जन छन् तमाम हितका कोही हुने बाँदर ।
लुक्छन् देह बचाइ आपत हुँदा कस्ता भए काँतर ।। ६।।

टन्नै दौलतमा डुबेर मरुँ झैं गर्दा रहेछन् धनी ।
लोभी पाप हुने सदैव दिलमा टार्ने बहाना गरी ।।
सेवादान गरे विपन्न जनमा लाग्ने थियो धर्मनै ।
भोकै आँगनमै सुतेर विचरा धिक्कार्छ ऊ कर्मनै ।। ७।।

माया मोह बढ्यो हरेक मनमा जाली छ संसार यो ।
जाने हो सब त्यागले पर गरी खाली छ संसार यो ।।
आफ्ना हातहरू भलो तिर गरौं बाँडेर खाने गरौं ।
नाङ्गा छन् दिन दुःखका जन कठै सद्भावना त्यैं छरौं ।। ८।।

नेपाली जन हे सुधार मति लौ राम्रो गरौं कर्मले ।
को बुझ्ला नबुझे व्यथा भुवनको साँच्चै बडो धर्मले ।।
सेवाभाव सदा प्रगाढ दिलमा उम्दा भएको निको ।
भावी सन्ततिले सिकेर जगमा बोक्लान् दयाको बिटो ।। ९।।

छन्दः शार्दूल विक्रिीडित

वि.सं.२०७७ साउन ३१ शनिवार ०९:२० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...