
जतिबेलासम्म
म भित्र चेतना फक्री सकेको थिएन
म मेरै घरभित्र
अछुत ठानेर बेग्लाइएँ
छोई छिटोबाट म अनविज्ञ छैन
आमाबाटै तिरस्कार भइने,
मानव सिर्जित संस्कार भनेर,
जब म बुझ्न थालें
तब भत्काएँ
आफ्नै घरभित्र लगाइएका
छुवाछूतका सिमानाहरु
हो मेरो विचारका पालुवा नछिप्पिदै
म बाह्मण परिवारभित्रै
अछुत बनेर अलग्गिएँ
म बिटुलिदै हरेक महिना
चोखिदै सुनपानीले
पुनः म ब्रमाणकै छोरी भएँ
समाज भित्रैको अछुतको पगरी
म मेरो छोरीलाई
अँह कहिल्यै लगाइनं
मेरो लाल,
जीवनको डालिमा
फक्रन्छिन्, फुल्छिन्
मुस्कुराउछिन्
सदासदा पवित्र छिन्
उनलाई सुनपानीको आवश्यकता छैन
उनी घरको दिप हुन्
खम्बा हुन्
भरोसा हुन् उनी
मेरो जीवनको एक हिस्सालाई
म अछुत मान्दै मानिनं
धर्म र प्राकृतिक विपत्तिका
कथा सुनाएर
मलाई अछुत हुन बाध्य पारिएका,
एकादेशका कथाहरु
म मेरो संन्तानलाई सुनाएर
कहिल्यै तर्साउन चाहन्न
वीर विराट् हुन् छोरी
सुनपानी छर्केर
म उनलाई कमजोर बनाउन चाहान्नं
छोरीमाथि थोपर्ने छुवाछूत
मलाई अस्वीकार छ ।
वि.सं.२०७७ साउन ३१ शनिवार ०९:४० मा प्रकाशित






























