
अधुरा सपनाहरु
बन्धकी राखेर
आँसुको तालमा
चुर्लुम्म डुब्दै
कहालीलाग्दो रातलाई
सूर्यको किरणसँगै
बिर्सन खोज्दा
मुटु भकानिन्छ
शरीर छिया छिया भई
पुरै चोइटिन्छ
अर्धचेतन अवस्थामा
नितान्त एक्लो भएर
पहिरोले पहाडलाई चिथोरे झै
घरका भित्ताहरु चरक्क
भएर चर्किन्छन
सीसा सरि
न त जोड्न सकिन्छ
न त तोड्न नै
ढलेका सपनामा कात्रो ओढाइन्छ
पिण्ड चढाइन्छ
सँगसँगै मन भित्रका
मुटु, ईच्छा र चाहानाहरु
पनि क्ष्यत बिक्ष्यत भएर
चर्किएका र भत्किएका छन
सन्सार जित्ने लक्ष्यित
सपनाहरु असरल्ल
छरपष्टिएकाछन मन भित्र तरङ्गित खुसिहरु
कहिल्यै नफर्कने बाटो भएर बगे
यो एक मुठि सास नउनिएको भए
म पनि उसै गरि बग्दै जाने थिएँ
फेरि कहिल्यै नफर्कने बाटो भएर
वि.सं.२०७७ साउन ३१ शनिवार १०:४१ मा प्रकाशित






























