कहिले पनि पाइँदैन, चाड तीज मान्नलाई
गाह्रो छनी परदेशीको, जहान बन्नलाई
कति राम्रो संस्कृती छ, हाम्रो भाषा हाम्रो भेष
श्रीमान छ्न परदेशमा, रुन्छु घरदेश
परदेशमा जानुभयो, बिहे गरेको महिनामै
आफ्नो पिर कसलाई सुनाउ, राख्छु मै आफै
आनी बानी जान्नै छैन, बेथा मुटु जलाउनी
कसरी हो आमा उनको, माया पलाउनी
दुई बर्षमा छुट्टि आउने, सपना झैँ हराउने
आमा भन्छिन् मुटु मानी, दिलमा सजाउनी
छोराछोरी छाडेर, मलाई एक्लै रुवायर
के जित्नुभो हजुरले, धन कमाएर
जोरिपारी भन्छन् मलाइै, शिरमा धनको बिटो छ
एउटा टुक्रा जमिन तेहिनी, बैंकमा धितो छ
शिरमा सिन्दुर उनको नाउँ छ, धनलाई परदेश पठाएँ
देखावटी हाँसो हाँस्दै, जोवान कटाएँ
बरै जोवान कटाएँ
हजुर पर्देश हामी शहर, महँगीले दिक्क भो
हजुरले कमाको धन, खादा ठिक्क भो
देहरादुनको चामल हाम्लाई, गोरखपुरको पियाज
भाको तेहि घरनी धितो, तिर्छु बियाज
खानै पर्ने बिहारको आँप, कस्मिरको बासी स्याउ
यहि माटोमा फलाऔ भो, घर फर्की आउ
परदेशी फर्की घर आउ
लाउन्न मैले सुन हिरा, बनारसे त्यो साडी
हजुर जस्ता युवा फर्के, चल्छ रेलगाडी
यहीँ चल्छ रेलगाडि
पसिना र रगत बेच्यौ, तिमी परदेश गएर
के जितियो थाइल्यान्डको, कपडा लाएर
ठूला ठूला खेतका गरा, झार पलायो गाउँ बेशी
तिम्रो श्रम माग्छ देश, फर्क परदेशी
छिट्टै फर्क परदेशि
मौरीपालन, माछापालन फल्छ मेहनत गरेसी
सँगै श्रम गरौं अब, फर्क परदेशी
अब फर्क परदेशी
जोरिपारी देख्छन् मलाई धनै बोकि नाँचेको
बाध्यताले बाँचेको हो, छैन हाँसेको
कहिल्यै छैन हाँसेको
परदेश पस्ने युवाले सोच बिचार फेर्नुछ
आयात गरि बाँच्ने होइन, निर्यात गर्नुछ
भन्छु मत सलाम गर, आफ्नै स्याउको बोटलाई
फर्र्की आउ माया मार, हरियो पासपोर्टलाई
छोराछोरी संधै सोध्छ्न, बाबा कहिले आउँछ्न
एक्लै रुदै हाँसी भन्छु, धेरै धन ल्याउँछन्
बाबू धेरै धन ल्याउँछन्
सिङगापुर यहीँ बन्छ युवाले हात मिलाए
परदेशको गुलाम छाडी, माटो चलाए
बाबाआमा छोराछोरी, बाटो हेछर्न गाउँबेशी
फेरि मैले बिन्ती गर्छु, फर्क परदेशी।
वि.सं.२०७७ भदौ १ सोमवार १४:१५ मा प्रकाशित






























