
यो बाले बनाएको घर,
बा जस्तै बुढो भएको छ,
बा जानु भो,
तर घर गएन
मलाई यो घर तिम्रो
बा जस्तै लाग्छ,
जो पोहोर सालको भैचालोमा पनि
किन्चित हल्लेन
र त यो घर छ म छु अनि तिमी छौ ।
यो लामो निरल तिम्रो बाले एक्लै ल्याएको,
यो आगनको छपनि तिम्रो बाले एक्लै बोकेको,
ल हेर, तिम्रो बाले लागाएको बाँस,
कति अग्लो भएको छ,
तिम्रो बा जस्तै,
जो अग्लिएर पनि,
आफ्नो धराताल बिर्सेनन्
र त धरा बाकिरह्यो ।
तिम्रो लागि पुर्खाले छाडेको,
कोसेली ।
ल हेर, त्यो तुलसीको मोठ,
तिम्रो बाले सारेको तुलसी,
म तुलसी देख्दा तिम्रो बालाई सम्झिन्छु,
जो कुरिरहन्छ रित्तो आगन,
म जस्तै,
र त लाग्छ आगनमै छन् भगवान ।
त्यो तिम्रा बाले ल्याएको सिलौटो,
जहाँ अझै पनि घोटिन्छ लोहोरो,
र पिसिरहन्छ जिजिविषा,
मलाई त्यो लोहोरो तिम्रो बाजस्तै लाग्छ
जो जिन्दगीभर घोटिइरहे तिम्रो लागी,
र एक्लै गए
सब छाडेर,
तर मलाई डर लाग्छ,
बाबु !
तिमी बा बनेपछि,
के छाडेर जान्छौ हँ तिम्रो छोरालाई ?
कुशे औशी विषेश
वि.सं.२०७७ भदौ ६ शनिवार ०८:५७ मा प्रकाशित






























