कुरा त अलि पुरानो हो । मैले थाहा पाएको भने गत साउन,अर्ध लकडाउनका बेला । खुरुखुरु बाटो छेउमा हिँड्दै थिएँ । चिया पसलबाहिर पैदल हिँड्नेलाई छेकेर राखिएका प्लास्टिक स्टुलमा बसेर कालो चिया सुर्क्याउँदै गफिएका केही युवाहरूले कान ताने ।
हाम्रो राजनीति बाज हो,अर्कोले हैन हाम्रो राजनीति गिद्द हो ! अर्कोले भन्यो दुवै हो । अलि भद्र देखिने दारीवालले भन्यो कसरी बाज हो ? ल पुष्टि गर । मैले पनि चियाको निउ पारेर कुरा सुनेँ ।
चिया सुरुप्प पारेर भन्यो – यी आन्दोलन हुने बेलामा सबै जनताको हित हुनेछ । कसैले पनि भोकले र उपचार नपाएर मर्नुपर्ने छैन । अवसरबाट वञ्चित हुने छैनन् भन्छन् । कसरी बाज भो त ? बिचमा अर्को हतारियो । पख पख भन्दै आन्दोलन अघि बढ्छ । साधारण मान्छे मारिन्छन् । सरकार र आन्दोलनकारी सहमति गर्छन् र सरकार एक जना दलितलाई टिपेर लान्छ । अर्को जनजातिलाई लान्छ, अर्को महिला, मुस्लिम एक एक जना टिप्छ बाजले भाले टिपेझैं । भाले माथि पुग्छ,सुविधा भोग्छ ! सडक बिर्सन्छ । सडकमा उत्रेर भाले जन्माउनेहरू सडकको सडकमै !
सबैले मुखामुख गरे ।
ल, अब तँ पुष्टि गर गिद्द कसरी ? सोझै छ नि आन्दोलनमा जनताका लागि भनेर उफ्रिन्छन् सत्तामा जान्छन् त्यहाँ गए पछि कहाँ कहाँबाट कमिसन आउँछ, मोटो रकम कुम्ल्याउने ठाउँ कहाँ छ भनेर गिद्दले माथिबाट सिनो हेरेजस्तै खोजी खोजी घुस खान्छन् । उपस्थितले फेरि मुखामुख गरे ।
अर्कोले भन्यो सधैं उनै दोहोरिन्छन् किन नि ? अर्को बिचबाट बोल्यो । यो त सामान्य छ नि वर्गीय हित ! सडकमा छँदा सडकका साथीहरू वर्गीय थिए । अब त बाज र गिद्द भइसकेपछि वर्ग फेरियो । सडकमा कसरी आउने ? फेरि मलाई टिपिनस् भने तैंले पदमा बसेर गरेका काला करतुत सबै भन्दिन्छु भन्छ गइसकेकाले थर्काउँछ अनि बुजो लाउनुपरेन ?
अलिक फरक देखिनेले सोध्यो त्यसो भए हाम्रो राजनीति कहिल्यै काग हुँदैन ? हुन्छ काग हुन्छ तर यी साठी वर्ष नाघेका र घुस्याहालाई घोक्रेठ्याक लाउन जनता जाग्नुपर्छ नत्र यस्तै हो । बाज र गिद्द नै भकारो ओगटिरहन्छन् । देखेनौ ? आन्दोलनबाट एक-दुई जना टिपेर लाने तुहादिने । झोपडी अँध्यारा अँध्यारै ! यिनै देखायो भिख माग्यो कमिसन खायो ।
अब आफै उठ्ने हो, स्याललाई चल्ला दिएर हुर्काइदे ! भनेजस्तै हो अहिलेका अनुहारबाट जनहित हुने कुरा त !!
वि.सं.२०७७ भदौ २० शनिवार ०९:३५ मा प्रकाशित





























