२७ भदौ, काठमाडौं । प्रचण्डलाइ कार्यकारी बनाउदै शनिबार सम्पन्न सत्तारुढ नेकपाको स्थायि समिति बैठकपछि कृषिमन्त्री घनश्याम भुसाल फेरि चर्चाका पात्र बनेका छन् ।
समाजबादी अभियन्ताका रुपमा चिनिएका भुसालले दर्शनको मिठो ब्याख्या गरेर, मन्त्री हुँदासाथ अध्ययन पछि ठोस योजना दिने कुरा गरेर, किसानले राहत नपाएको, मल बीउको समस्या उस्तै रहेको आलोचना खाएर, मलको हाहाकारको कारण तीव्र आलोचना ब्यहोरेर र ठेकेदारको धरौटी जफत गर्न लगाएर उनी लगातार चर्चामा आइरहेकै छन् ।
सबैतिर दलाल पुँजीवादबादको घेराले आत्तिएका घनश्याम फेरि स्थायी समिति बैठकमा बोलेका कुराले चर्चामा आएका छन् । उत्पादन, आत्मनिर्भरता, स्वाधिनता र समाजवादको ब्याख्याता समेत मानिने उनले पार्टी अध्यक्ष केपी ओली र प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै महाधिवेशनसम्म दलाल पुँजीवादले हाइज्याक गर्ने खतरा बैठकमा औल्याएका थिए ।
उनले सबैभन्दा जटिल समस्या ठानिएको दलाल पुँजीवादका बारेमा कतै नबोलिएको भन्दै प्रतिवेदन परिमार्जनको सुझाव समेत दिएका थिए ।
प्रतिवेदन माथि ब्यंग्य गर्दै उनले ब्रेन ट्यूमरको बिरामीलाई टाउको दुखेको तेल कामयावी नहुने र दलाल पुँजीवादसँगको संघर्ष नचर्काए पार्टी महाधिवेशनसम्म समाजवाद नै अपहरणमा पर्न सक्ने चेतावनीसमेत दिएका थिए ।
शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकमा उनले दोस्रो विश्वयुद्धपछि संसारका धेरै देशमा जनवादी क्रान्ति भयो, तर दलाल पुँजीवादसँग आत्मसमर्पण गर्दै वर्ग रूपान्तरण हुँदै नवधनाढ्य वर्गमा परिणत भएर, ती सबैजसो देशमा क्रान्ति पतन भएको कारण दलाल पुँजीवादलाई नजरअन्दाज गर्नै नहुने अडान राखेका थिए ।
मन्त्री भुसाल केहि समय यता दर्शनको ब्याख्यामा सफल र मन्त्रीको ब्यवहारका रुपमा भने असफल भनिदै आएका छन् । यद्यपि मन्त्री घनश्यामलाइ अध्ययन र संगत गरेका एक नेकपाकै नेताले भने ‘बोले जस्तो गर्न त गाह्रै हुन्छ तर उहांले मन्त्रीपद छाडनुहोला मुल्य मान्यता र सैद्धान्तिक जगलाइ छाडनुहुदैन, अहिलेपनि नेतृत्वलाइ दलाल पुँजिबादको ध्यानाकृष्ट गराउनुका अर्थ त्यहि हो ।’
वि.सं.२०७७ भदौ २७ शनिवार १०:४८ मा प्रकाशित






























