काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहँदा कुलमान घिसिङ्गले अत्यन्तै उदाहरणीय काम गरे । उनको नेतृत्वले देशमा १८ घण्टासम्म भएको लोडसेडिङ्ग अन्त्य मात्रै गरेन अत्यन्तै घाटामा पुगेको नेपाल विद्युत प्राधिकरणलाई अरबौं नाफामा ल्याउन पनि सफल भयो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन सरकारले २०७३ भदौ २९ मा घिसिङ्गलाई प्राधिकरणको प्रमुखका रुपमा नियुक्ती गरेको थियो । घिसिङ्ग प्राधिकरणको प्रमुखमा नियुक्ती भएको छोटो समयमै दैनिक १८ घण्टासम्म हुने लोडेसेडिङ्ग अन्त्य भएको थियो ।
भदौमा नियुक्ती पाएका घिसिङ्गले ०७३ कै तिहारदेखि मुख्य ठुला शहरमा लोडसेडिङ्ग अन्त्य गराएका थिए । घिसिङ्गको कार्यकाल सुरु भएको डेढ वर्ष अर्थात् २०७५ वैशाखदेखि देशभर लोडसेडिङ्ग अन्त्य भएको थियो ।
वर्षेनी घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामुलक बनाउँदै लोडेसेडिङ्ग अन्त्य गरेका घिसिङ्गको ४ वर्षे कार्यकाल भदौ २९ देखि सकिएको छ । उनलाई पुनर्नियुक्ती दिने विषय चर्चामा रहेको भएपनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले भने अनिच्छा देखाएको छ ।
रिक्त प्राधिकरण प्रमुख पदमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले कुनै निर्णय गरेन । जनाइएअनुसार कुलमान घिसिङ्गलाई पुनर्नियुक्ती गरिने प्रस्ताव अन्तिम समय प्रधानमन्त्री ओलीले रोकेका थिए ।
कुलमानको नाममा नेकपाका नेताहरुबीच जुहारी
सत्तारुढ नेकपा कुलमान घिसिङ्गलाई पुनः नियुक्ती गर्ने वा नगर्ने भन्ने विषयमा विभाजित छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु कुलमान घिसिङ्गलाई पुनर्नियुक्ती दिने पक्षमा छन् । तर, प्रधानमन्त्री ओलीलगायतका नेताहरु भने घिसिङ्गको विपक्षमा छन् ।
पुनर्नियुक्तीको चर्चा भईरहेका बेला नेकपाभित्र घिसिङ्गको विषयमा विवादसमेत भएको छ । जुन सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत छताछुल्ल छ । नेताहरु सामाजिक सञ्जालमा एक अर्काप्रति कटु आलोचनासहित उपस्थित छन् ।
नेकपा प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले घिसिङ्गको पक्षमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले अत्यन्तै ठाडो आलोचना गरेका छन् ।
‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्गको योगदान अझै आवश्यक रहेको’ भन्ने अभिव्यक्ति दिएका श्रेष्ठमाथि ओलीका सल्लाहकारले अत्यन्तै अराजक शैलीसहित आलोचना गरेका छन् । श्रेष्ठको अभिव्यक्तिमाथि कडा विरोध गर्दै ओलीका सल्लाहकारले लेखेका छन् , ‘पार्टीको हालको जिम्मेवारी यहि लबिङ गर्ने हो ?’
नेकपाको प्रचार विभागको प्रमुख श्रेष्ठ र उपप्रमुख थापाबीचको जुहारी सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि प्राथमिकतामा पनि परेको छ । चर्चामा रहेको यी दुई अभिव्यक्तिले नेकपाभित्रको विवादको अवस्थालाई पनि चित्रित गर्दछ । जसको निरन्तरता आगामी समयमा समेत देखिनेछ ।
नारायणकाजी श्रेष्ठकाे अभिव्यत्ति
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।
— NKShresthaPrakash (@nksthaprakash) September 14, 2020
सुर्य थापाकाे अभिव्यत्ति
१.कुलमान घिसिङकाे पक्ष/विपक्षका यतिबेला आआफ्ना मत/अभिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने…
Posted by Surya Thapa on Monday, September 14, 2020
सम्बन्धित समाचार
कुलमान नियुक्तीको विषय अन्यौंलमा, उर्जामन्त्री पुनले बैठकमा लगेनन् प्रस्ताव
कुलमानको पुनः नियुक्तीको सम्भावना कठिन, कुलमानप्रति प्रधानमन्त्री ओलीका धेरै छन् असन्तुष्टी
वि.सं.२०७७ भदौ ३० मंगलवार १५:०२ मा प्रकाशित






















