९ असोज, धनगढी । आख्यानकार गगनसिंह थापाको छैठौ कृति महाप्रलयको विहिबार बिमोचन भएको छ ।
प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा प्रसाद उप्रेतीले साहित्यकार थापाको छैठौं कृति महाप्रलयको भर्चुअल बिमोचन गरेका हुन् ।
महाप्रलयको भर्चुअल लोकार्पण गर्दै उप्रेतीले नेपाली आख्यान क्षेत्रमा महाप्रलय बिशिष्ट कृति भएको चर्चा गरेका थिए । आख्यान भनेको बिराट जीवनको प्रस्तुती गर्ने कला हो, कृतिमाथि चर्चा गर्दै उप्रेतीले भने–‘महाप्रलयमा आख्यानकार थापाले बिराट जीवनलाई सुललित ढंगले पस्किनु भएको छ । त्यसकारण पनि यो कृति अरु आख्यानकारका कृतिभन्दा बिशिष्ट छ ।’
नेपाल बहु भूगोल, बहु संस्कृतिबाट बनेको र कुनै एक क्षेत्रको सभ्यता र संस्कृतिको उठानबाट त्यो देशका सबै भूगोलमा बस्नेहरुको प्रतिनिधित्व नहुने बताउँदै उप्रेतीले भने, ‘महाप्रलयले अहिलेसम्म ओझेलमा परेको र छुट्टै मौलिकता, पहिचान र सभ्यता बोकेको र हिमालय र पर्वतीय भूभागको खसान र जडान सभ्यता, त्यहाँको जीवन दर्शन तथा जीवन पद्धतिलाई आख्यानकार थापाले महाप्रलयमार्फत् बाहिर ल्याएका छन् ।’
कर्णालीमा बाँचिने जीवन, त्यो जीवनको दर्शन र त्यो भूगोललाई अहिलेसम्म यति मिहिन ढंगले यसरी चित्रण गरिएको गरिएको नपाइएको बताउँदै उप्रेतीले जसरी आख्यानकार थापाले महाप्रलयमा चित्रण गरेका छन्, यो महाप्रलयको विशेषता रहेको बताए ।
‘हाम्रो जीवनमा बहुलता छ । बहुलता हाम्रो बिशेषता हो । अझ ज्ञानको ईतिहास,परम्परा बिशाल छ । हाम्रो भूगोलको त्यही बिराट बहुलता, ज्ञान, ईतिहास र संस्कृतिलाई महाप्रलय उपन्यासमार्फत् थापाले बिशिष्ट ढंगले उतार्नु भएको छ,’ उनले भने, ‘जहाँ घृणा, अहमता र दम्भ हुन्छ । त्यहाँ द्धन्द हुन्छ । द्धन्दको बिराट रुपले महाप्रलय निम्त्याउछ । महाप्रलयबाट जोगिन प्रेम र सद्भावको बिकल्प छैन । महाप्रलयले त्यो गहन सन्देश दिएको छ ।’

कृतिमाथि समीक्षा गर्दै साहित्यकार डा. रजनी काफ्ले ढकालले कृतिका आख्यानकार थापाको कृति साहित्यकार मदनमणी दिक्षितको माधवी झै फराकिलो र स्वैरकल्पना गर्न सक्ने अदभुत कला र शब्द शिल्पीको उत्कृष्ट काव्य भएको बताईन् ।
उनले कर्णालीबाट शुरु भएको आख्यानकार थापाको महाप्रलयले संसारको यात्रा गराएको बताउँदै भनिन् ‘कर्णालीको सेरोफेराबाट शुरु भएको यो कथा विश्वको फन्को मारेर कर्णालीकै छेउमा आएर टुंगिन्छ ।’
महाप्रलयका मूल पात्र बिजेता र अक्षताको प्रेमिल जोडी स्वय सिद्धी तथा अलौकिक क्षमता भएका पात्रका रुपमा देखाईएको छ जो मानवीय हीतमा समर्पित रहेको र अति मानवीय चरित्र भएका यी पात्रले खसान तथा जडान सभ्यता र त्यहाँको जनजीवनलाई विश्वसामु चिनाएको पनि डा. ढकालले बताइन् ।
साहित्यकार ढकालले महाप्रलयलाई हिन्दु धर्म र बैदिक आर्य सभ्यताको गहन अध्ययनशिलता र खोजमुलकताको उत्कृष्ट कृति भएको बताइन् । ‘मानव सभ्यताको शुरुभए यता बलियोले निर्धोमाथि गर्ने थिचोमिचो र त्यसले समाजमा उत्पन्न गरेका द्धन्द र त्यसका असरहरुलाई साहित्यिक सृजना मार्फत पस्किन सक्ने खुवी बिरलै साहित्यकारहरुमा हुन्छ, उनले भनिन्, ‘त्यो क्षमता आख्यानकार थापामा छ ।’
डा. ढकालले यसमा द्धन्दको दुन्दुभी र अहमताले निम्त्याएको महाप्रलय मात्र नभई यसमा प्रेम र सद्भाव पनि रहेको बताउँदै भनिन्–‘महाप्रलय कल्पनशिलतामा मात्र आधारित छैन । सूचना र तथ्यहरुले भरिएको छ । यतिधेरै जानकारी आख्यानकार थापाले कसरी समेट्नु भयो ? कृतिले कौतहुलता पनि जन्माएको छ ।’

आख्यानकार गगनसिंह थापाले महाप्रलयको रचनाका सन्दर्भमा अल्वर्ट आईन्सान्टाईनसंग एक पत्रकारले गरेको जिज्ञासाको प्रसंग सुनाए । आईन्सान्टाईनलाई एक पत्रकारले सोधे–महाप्रलय कसरी हुन्छ ? उनले जवाफ दिए, शक्ति राष्ट्रको अहमता र दम्भबाट । आख्यानकार थापाले भने-महाप्रलय तिनै मानवता र माया नभएका दम्भी र अहमता भएका शक्ति राष्ट्रको अहंकार र उन्मादबाट निम्तिएको परिणामको चित्रण हो ।’
आख्यानकार थापाले शक्ति राष्ट्रहरुको दम्भ र अहमताले महाप्रलय भएको र संसार रित्तिएको बताए ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा . डा. जगतप्रसाद उपाध्यायले महाप्रलय उपन्यासलाई महाउपन्यास र महाआख्यानको संज्ञा दिए । उनले भने, ‘यस कृतिले समेत बिराट जीवन लाई उपन्यास होईन, महाउपन्यास र महाआख्यान भन्न मन लाग्यो ।
उनले महाप्रलयमा हिमालय (जडान क्षेत्र) र पर्वतीय (खसान क्षेत्र) समेटिएको कर्णालीको जडान र खसान सभ्यताको बीचको सम्बन्धका बिबिध पाटाहरुलाई पनि महाप्रलयले उजागर गरेको बताए ।
सिंजामा सुनको दरवार स्थापना गरेर नागराजले १२ औं शताब्दिमा शुरु गरेको खस सभ्यता नेपालकै आदिम सभ्यता भएको चर्चा गर्दै उपाध्यायले खसान क्षेत्रमा पूजिने १२ भाई मष्टो सबै क्षेत्रमा पूजिनुले भने खसान सभ्यताको महत्व दर्शाउने बताए ।
‘कर्णालीमा द्धन्द पनि छ । द्धन्दसंगै समन्वय पनि छ । पुराना शिलालेख र ताम्रपत्रले त्यो कुराको पुष्टि गर्छ । कर्णाली थुप्रै सभ्यताहरुको उद्गम थलो हो । यो खस, आर्य, शैव, बैष्णव र बोन सभ्यताको उद्गम थलो हो,’ उनले भने, ‘बुद्ध लुम्बिनीमा जन्मिएपनि बौद्ध दर्शनको विकास कर्णालीको सिरानमा रहेको कैलाश मानसरोवर र उच्च हिमाली क्षेत्रबाट भएको हो ।’ आख्यानकार थापाले यी सबै सभ्यताहरुको सांगोपांगो चित्रण मिहिन ढंगले महाप्रलयमा उतारेको पनि उपाध्यायले बताए ।
मदनपुरस्कार बिजेता साहित्यकार महेश बिक्रम शाहले आख्यानकार थापाको उर्जा र साहित्यिक लेखन सबैका लागि प्रेरणादायी भएको बताए । ‘उहाँले जीवनको अधिकांश समय राजनीति र समाजसेवामा बिताउनु भयो । २०३६ सालमा सहलेखनमा पहिलो साहित्यिक कृृति प्रकाशन गरेको ३४ वर्षपछि उहाँको साहित्यमा पुनरागमन भयो । सायद उहाँलाई लाग्यो कि राजनीति मेरो क्षेत्र होईन ।’ शाहले भने ।
साहित्यकार थापाको सक्रियता, साहित्यप्रतिको लगावले उमेरले सृजनालाई छेक्न सक्दो रहनेछ भन्ने सन्देश दिएको पनि शाहले बताए । ‘जतिबेला म विद्यालयमा पढ्थे, त्यति बेला उहाँको सहलेखनमा साहित्यिक कृति सोर्ह्र सौगात प्रकाशित भईसकेको थियो । उहाँकै प्रेरणाले मलाई पनि साहित्यिक क्षेत्रमा लाग्न प्रेरित गर्यो ।’
उनले आख्यानकार थापाका कृतिमा कर्णालीको छेउछाउका सिमान्तकृत समुदायका आवाजहरु मुखरित भएको बताए ।
साहित्यकार शाहले आख्यानकार थापाले कसैले नसुनेका र किनारा लगाईएका मान्छेका आवाज, गरीवी, पछौटेपनलाई लेखनको विषयवस्तु बनाएको चर्चा गर्दै थापाको कृतिमा महिलाहरुको उत्थान, आञ्चलिकता र समाजको सांस्कृतिक बिशिष्टता पाईने गरेको बताए ।
उनले आख्यानकार थापाको कृति महाप्रलयले साहित्यकारले भविश्यमा हुने क्षतिको अनुमान आफ्नो साहित्यिक सृजना मार्फत दिनसक्छ भन्ने सन्देश दिएको बताए ।
प्रा.डा. हेमनाथ पौडेलले नेपालको ईतिहास, संस्कृतिलाई लिपिबद्ध गरेर प्रकाशन गरिएको महाप्रलय नेपाली साहित्यको ईतिहासमा उत्कृष्ट कृति भएको चर्चा गरे ।
प्रा.डा. पौडेलले खसान र जडान क्षेत्रको सभ्यता, ईतिहास र यसको महत्वलाई कुशलतापूर्वक महाप्रलयमा समेटिएको बताए ।
आख्यानकार थापाको भाषिक र गद्य लेखनको कला बेजोड भएको चर्चा गर्दै प्रा.डा. पौडेलले प्रेमका सन्दर्भहरुलाई आख्यानकार थापाले उच्च किसिमले प्रस्तुत गरेको बताए । ‘यतिधेरै बिबिधता र जानकारी भएको कृति बिरलै हुन्छन । नेपालका विश्व विद्यालयकाहरुका पाठ्यक्रमका लागि आख्यानकार थापाको महाप्रलय उत्कृष्ट कृति हुन सक्छ ।’
आख्यानकार थापाका राजनैतिक सहयोद्धा तथा संघीय संसद सदस्य राम बहादुर बिष्टले बीपी कोईरालाले भने झै गगनसिंह थापा भित्र पनि दुईटा पाटा रहेको बताए । पुरै जीवन राजनीति र समाजसेवामा समर्पित गरेका थापाले जीवनको उत्तरार्धमा उत्कृष्ट साहित्यक सृजना गरेर आफूभित्र दुईवटा पाटा रहेको स्पष्ट पारेको उनले बताए ।
साहित्यकार जीवा लामिछानेले आख्यानकार थापाले आफ्ना कृतिमा आञ्चलिकता र कर्णाली किनारका सुदूर वस्तीको जनजीवनका पाटाहरुलाई सरल तरिकाले प्रस्तुत गरेको बताए ।
भर्चुअल लोकार्पण कार्यक्रमको सञ्चालन कवि रमेश पौडेलले गरेका थिए । नेपाल अफ्रिका साहित्य समाजका अध्यक्ष तथा आख्यानकार थापाका पुत्र हिक्मत थापाको अध्यक्षतामा सम्पन्न भएको भर्चुअल लोकार्पण कार्यक्रममा संसारका बिभिन्न देशबाट साहित्यकार, साहित्यअनुरागी तथा आख्यानकार थापाका परिवारजन तथा शुभेच्छुकहरु समेत सहभागी थिए ।
सभाअध्यक्ष थापाले भर्चुअल लोकार्पण कार्यक्रममा सहयोग गर्ने र सहभागिता जनाउने सबैलाई धन्यवाद दिदै आख्यानकार पीताका थप दुई कृति प्रकाशोन्मुख रहेको जानकारी दिए ।
कोरोनाका कारण नयाँ शैलीमा भएको लोकार्पण समारोहका सभाअध्यक्ष थापा अफ्रिकाको नाईजेरियामा थिए ।
प्रमुख अतिथि, आख्यानकार थापा, कार्यक्रम सञ्चालक पौडेल र वक्ताहरु काठमाण्डौंमै थिए । त्यो पनि छु्टाछुट्टै स्थानमा ।
२००५ सालमा अछामको दर्ना पाटेखेतमा जन्मिएका आख्यानकार थापाका छ वटा कृति प्रकाशित छन् । वि.स. २०३६ सालमा सहलेखनमा थापाको पहिलो कृति सोह्र सौगात प्रकाशित भयो । ३४ वर्षपछि २०७० सालमा कर्णालीको छेउछाउ, २०७२ सालमा पुर्खाको चिठ्ठी, २०७४ सालमा मधुशाला, २०७६ मा उज्जली प्रकाशित भयो ।
महाप्रलय थापाको छैठौ कृति हो । सांग्रिला बुक्सले प्रकाशन गरेको महाप्रलय आवरण सहित चार सय ८६ पृष्ठको रहेको छ ।
वि.सं.२०७७ असोज ९ शुक्रवार ०९:५१ मा प्रकाशित






























