
सफाछन् ठूलाछन् मन तन यहाँ सुन्दर अति ।
नहोला पिडामा जनमन यसै प्रलय कति ।।
अनौठो संख्याका वजन जब दुःखी जन यो ।
मनैको दुःखैमा जगत जननी आँशु झन त्यो ।।
वयेली खेलेरै पर पर डुली जान सजिलो ।
भकारी खोलेरै सुलु सुलु हुँदै खान सजिलो ।।
अज्ञानी सङ्गीको तन मन नहोला जिवनमा ।
सुनौलो मौकामा समय नभए हुन्न जनमा ।।
भुलेका सौभाग्यै सरल सहजै कुञ्ज वन यो ।
लडेरै मात्र हुन्न जन बल भो राख धन यो ।।
उठाऊ देशकै अनवरत गाथा जगतमा ।
सुनेरै जल्नेछन् सब जन नहोला फगतमा ।।
झुलाऊ बाटीका वर पर सुनौला फल अति ।
लगाऊ ज्ञानका झलमल दिपै प्रज्वल कति ।।
नहोला पीडा त्यो अचल धन आँफू पर गए ।
सुनेछौँ हामीले हरबखत साँचो मन भए ।।
खुशीमा आमाको बिगत नहुँदा दुःख कति भो ।
डुलेका बाबाका सयर सपना नै नभुल त्यो ।।
जुटेरै बन्दैछन् कति सफल संसार बिचित्र ।
मिलेरै आएमा असल जन यो हुन्छ पबित्र ।।
नसोच्दा आनन्दै सुख सयल हाम्रो जिवनमा ।
नलाए सत्ज्ञानै हर पटक आफ्नै पवनमा ।।
सबैको राम्रो हुन्न मनुष यहाँ यो जगतमा ।
बसेको रानो भै मगज भर रातो रगतमा ।।
छन्द-शिखरिणी
वि.सं.२०७७ असोज १० शनिवार ११:२९ मा प्रकाशित




























