
संस्कृतको कोखबाट
भारोपेली परिवारमा जन्मिएकी
शौरसेनी, मागधी, अर्धमागधीको काखमा नाच्दै-खेल्दै
खस प्रकृति र पूर्वी पहाडी संस्कारले ओत-प्रोत
नेपाली समाजमा हुर्किएकी
भाषा,
देशले न्वारण गर्यो र जातिले नमकरण गर्यो
‘नेपाली भाषा’
इतिहासको दुल्लु शिलालेखमा
अनेकौं भाषिक संग्रामहरू लडेकी हुन् उनले
छिमेकी भाषाहरू संग
विदेशी भाषाहरू बीच
कहिले जितको ताज पैह्रिएर रमाएकीछन
कहिले पराजितको संकटमा हराएकीछन
कठिनाईको पहाडसंग जुझ्दै–जुझ्दै
आफ्नो नाम दर्ता गरेकी हुन्
भारतीय भाषाहरू माझ संविधानको आठौं अनुसुचिमा
इतिहास साक्षी छ !
भाषा !
जसले गाँसेकी छन् जातिहरूलाई एउटै लहरमा
भाषा !
जस्ले बाँधेकी छन् देशहरूलाई एउटै मुट्ठीमा
सम्प्रदायिक हिंसाबाट बचाउन खोजेकी हुन्
जातित्वलाई एकत्र पार्न खोजेकी हुन्
भावना हो भाषा
संस्कार हो भाषा
भाषा नै त आन, मान, शान हो
स्वभिमान, पहिचान र प्राण हो
भाषालेनै देश चिनिन्छ
त्यहाँको संस्कृति झल्किन्छ
शिरको मकुट हो भाषाको अर्थ
आमा शब्द हो भाषाको महत्व !
त्यसैले,
गाँउन मन लाग्छ मलाई एउटा गीत
‘भाषा बाँचे जाति बाँच्छ,
जाति बाँचे संस्कृति हाँस्छ
भाषा नै हो मेरो प्राण,
भाषा नै मेरो स्वाभिमान !!’
वि.सं.२०७७ असोज १० शनिवार ११:३१ मा प्रकाशित




























