
विरलै लाग्ने खग्रास सूर्य ग्रहणको दिन थियो । घाम लाग्दा लाग्दै अचानक पूरै अन्धकार भयो । जंगलतिर चर्न गएका बस्तुभाउ पनि बाँबाँ र बूँबूँ गर्दै घरतर्फ दौडिरहेका थिए । साथीहरू सँग खेल्न गएको हरि सरको कान्छो छोरो राजन पनि आत्तिदै घर आयो ।
‘बाबा ! आज यो के भएको ? दिउँसै यस्तो अँध्यारो ।’ राजनले सोध्यो ।
‘सूर्य ग्रहण लागेको हो, बाबू ।’ हरि सर बोले ।
‘सूर्य ग्रहण कसरी लाग्छ बाबा ?’ राजनले जिज्ञासु भएर सोध्यो ।
हरि सर विज्ञानकै शिक्षक थिए । उनले भन्न थाले, ‘पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने क्रममा कहिलेकाहीँ सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दछन् । यही बेला जब सूर्य र पृथ्वीको बीचमा चन्द्रमा हुन्छ, चन्द्रमाको छाँया पृथ्वीमा पर्छ र सूर्य ग्रहण लाग्छ ।’
‘यो ग्रहण हटाउने कुनै उपाय छैन् बुबा ?’ राजनले हरि सँग सोध्यो ।
‘यो प्रकृतिलाई कसैले पनि जित्न सक्दैन् बाबू । यो ग्रहण त क्षणीक हो । तीन चार घण्टा पछि आफै हटेर जान्छ । नडरा, डराउनु पर्दैन् ।’ हरि सरले भने ।
‘डराउनु पर्ने अरू ग्रहण पनि हुन्छन् र बुबा ?’ राजनले पुनः जिज्ञासा राख्यो ।
‘किन नहुनु ? हुन्छन् नि बाबु । हाम्रो देशको लागि भ्रष्टाचार सबैभन्दा ठूलो ग्रहण हो ।’ हरि सर बोले ।
‘यसले पनि सूर्यबाट आउने प्रकाश छेक्छ र बुबा ?’ राजनले अचम्म मान्दै सोध्यो ।
‘हैन बाबु, यसले सूर्यको प्रकाश त छेक्दैन् तर यसले हामी जनताले खाई नखाई करको रुपमा तिरेको राष्ट्रिय ढुकुटी स्वाहा पार्छ । देशको विकास चौतर्फी रोक्छ । जनताहरूले सधैंभर दुख पाउँछन् । सारा देश सधैं अन्धकार हुन्छ ।’ हरि सरले बेलिबिस्तार लगाए ।
राजन बुझेको भावमा मुन्टो हल्लाउँदै बोल्यो, ‘यो त सूर्य ग्रहण भन्दा पनि झनै खतरा पो हुने रहेछ । म मेरा जम्मै साथीहरूलाई पनि भन्छु । हामी सबै मिलेर यो ग्रहणलाई त जसरी पनि रोक्नुपर्छ है बाबा !’
वि.सं.२०७७ कात्तिक ८ शनिवार ०९:२५ मा प्रकाशित






























