
१.
सधैँ मञ्चमा देशभक्ति मात्र पढाएर हुँदैन
निल्नु न चपाउनुको योजना बनाएर हुँदैन
साँच्चिकै देशमा समृद्धि भित्र्याउनु छ भने-
सरकार ! युवालाई खाडीमा पठाएर हुँदैन ।
२.
भोजभतेर कुनै उत्सव घेवा होइन
मनलाग्दा काट्दै खाने मेवा होइन
कतिपय आफै बुझ्नुस् न महाशय-
देश सबैको हो कसैको पेवा होइन ।
३.
बिहान र साँझमा छाक टार्नै गाह्रो हुन्छ
आर्थिक समस्यालाई, पछार्नै गाह्रो हुन्छ
बाह्र घण्टा मजदूरी, गरेर के फाइदा भो-
मजदुरहरूको जीवन, सपार्नै गाह्रो हुन्छ ।
४.
आकाशको तारा हेरी हातले गन्न सकिँदैन
बालुवा मात्र जोडेर पनि, घर बन्न सकिँदैन
अरे ज्योतिष हुँ भन्दैमा जेपनि गर्न मिल्छ र-
मान्छेको हात हेरेर, भविष्य भन्न सकिँदैन ।
५.
खुसीको रंग माग्दा तिरस्कार पठाउँछन्
आफन्तले यसैगरि बारम्बार पठाउँछन्
मैले त बुझ्नै जानिनँ के गोप्य छ यहाँ-
कसरी पो बचनभित्र हतियार पठाउँछन् ।
वि.सं.२०७७ कात्तिक ८ शनिवार ०९:२६ मा प्रकाशित






























