back
CTIZAN AD

लघुकथा- केश विन्यास

वि.सं.२०७७ कात्तिक २२ शनिवार

699 

shares

काँचका पर्दामा देखिने, सार्वजनिक समारोह या नाट्यशालामा दर्शकलाई देखाउन गरिने फ्यासनमा तडकभडक, रंगिचंगि र आकर्षक त देखिएला तर कालजयी अवश्य हुँदैनन् ।

छोरोले टाउकोको दुईपाटो खुईल्याएर र टुप्पोमा कपालको जुरो बाँधेर आयो । उसको केश विन्यासको यो अवस्था देखेर हामी दुई जोईपोई अवाक भयौं । यस किसिमको केश विन्यासलाई के भनेर भन्ने । छोरो ऐना अगाडी आफूलाई राखेर हेर्दै मख्ख छ । शायद यतिविघ्न खुसी यस अघि भएकै थिएन । खुसीको पोको फुटेर उसको अगाडी छताछुल्ल भएको कुरो उसको भावभंगिमा, चालढाल र हिन्दी सिनेमाको गीत गुनगुनाईबाट नै बुझिन्थ्यो । उसको नजरमा उ आफै सुन्दर र एउटा आकर्षक व्यक्तित्व थियो ।

समय समयको कुरा हो । वर्तमान उसको समय र विगत मेरो । मेरो भन्दा अझ अगाडीका पुस्ताहरुको समय कस्तो थियो होला । केश विन्यास त्यतिखेर पनि हुन्थ्यो होला । आचार्यहरु पुरै मुण्डन गरेर शीरको केन्द्रमा एक मुठो शिखा राख्दथे । शिखा संस्कार र सभ्यताको परिचय थियो । ब्राम्हणको शिखा काटिदिए पतित मानिन्थ्यो । अन्य जातिहरु शीर पुरै मुण्डन गर्दथे । शिखा राख्न वाध्यता थिएन । समाजले स्वीकार नगरेको संस्कारहिन र पतित काम गरे चारपाटे मोडेर सजाय दिने चलन थियो । केश विन्यासका स्थापित मान्यताहरु थिए र थिए बाध्यकारी ।

कालक्रम फेरिदै आयो । केश विन्यासले सौन्दर्य चेत प्राप्त गर्यो । पुरातन भनिएको सांस्कृतिक शोचमा सौन्दर्य चेतकै अभाव त कहाँ हो र । सौन्दर्य शास्त्र त उहिल्यै लेखिएको हो नि । मानिसमा हुने गुण, लक्षण र सुन्दरताको अन्तरनिहत र वाह्य सुन्दर पक्षका वर्णनहरुले पुराना शास्त्रीय साहित्यहरु परिपूर्ण छन् । मेगदूत र शाकुन्तल त झन् अद्वितीय भईहाल्यो । प्रेम प्रणय र सम्वन्धका कलात्मक विवरणले युक्त साहित्यिक चेतको नमुना वेमिशाल छ । जावो केश विन्यास कै कुरा मात्र त के भयो र ।

केशको विन्यास गर्दा भद्रता र शिष्टतालाई ध्यान दिन पर्छ भनेर दिईएको सुझाव छोराले ‘यस्तो कुरा फ्यासनको वारेमा सेन्स नभएकाहरुको उर्दी र एकाधिकारवादी सोचले पूर्ण’ भएको भनेर उडाई दियो । उसको कुरा ठीकै होला बुढो र जरा मक्किसकेको रुखले कतिन्जेल हरियोपातले सजिएको रुखको सौन्दर्यको बखान गरोस् । केश विन्यास त ठीकै छ । उस वेलामा पनि लामा कपाललाई सम्याएर जुरो बनाउने चलन थियो, पुनरागमन गरेछ खुसी लाग्यो भनेपछि छोरो सन्तुष्ट भयो । ‘केश विन्यास त भईहाल्यो, अव फाटेर टालेको टाटेपाङ्ग्रे पाईन्ट चाहिं नलगाउनु’ भन्दै आदेश गरेको त उहिल्यै फाटेको जिन किनेर दराजमा राखेको जानकारी दियो । अव अरु थप सम्वादको स्थिति रहेन ।

आफ्नै पुराना दिन याद गर्न थालें । आफूले पनि त वावुआमालाई नटेरेकै हो । हामीहरुको पालामा चारैतिर छाँट पारेर मिलाएर काटेको कपाललाई ‘बङ्गाली कट’ भनिन्थ्यो । एकदिन बङ्गाली कट कपाल काटेर आएको घरमा एकछाक खानै पाईएन । बाउले भने, ‘तेरो जात गयो ।’ परेन फसाद, काटेको कपाल फेरी नजोडिने । गएको जात फर्केर नआउने । अव बाउले नै भनेपछि गयो होला भनेर धेरै विस्मात गरियो । भोलिपल्ट विहान ‘अवदेखि त्यस्तो नगर्नु, ब्रतवन्ध नगरेको हुँदा तेरो जात चाहिं गएन तर पश्चाताप गर्नपर्छ’ भनेर बाउले भनेपछि पश्चाताप गरेको थिएं । केही वर्षपछि गाउँ भरी सवैले बङ्गाली कट कपाल काट्ने भए । समयको चक्र हिजो नभएर फाटेको सुरवाल टालेर लाउनु पर्थ्यो, आज फ्यासनको नाममा महंगोमा किनेर फाटेको जिन लगाउँछन् ।

समयले सौन्दर्यताको परिभाषा बदले पनि मानिसको स्वभाव नफेरिने रैछ हिमाली हिमाल कै हावाको, पहाडी पहाड कै हावाको र मरुभुमिमा तातो हावाको संस्कृति संस्कार बनेर आउने रहेछ । महिलाको केश विन्यासमा एकचुल्ठी र दुईचुल्ठी अझै छ । अफ्रिकन महिलाहरुले केशको चुल्ठोलाई मिहिनेत गरेर बनाउने प्लेटको सौन्दर्यता र कलाकारिता कहां कम छ र । सदियौ देखि चलेर आएको संस्कारको सौन्दर्यताको मूल्य नै अर्को ।

काँचका पर्दामा देखिने, सार्वजनिक समारोह या नाट्यशालामा दर्शकलाई देखाउन गरिने फ्यासनमा तडकभडक, रंगिचंगि र आकर्षक त देखिएला तर कालजयी अवश्य हुँदैनन् ।

खै कहाँ गए ति जवानीमा पालेका लामा लामा कपाल । कहिले टिमिक्क परेको पाईन्ट र कहिले ह्वाङ्ग्रे वेलिबटम सवै तस्बिरहरुमा कैद भएर अल्वमको पानामा च्यापिएर बसेका छन् ।मेरो छोरोको अहिलेको टाउकोको दुईपाखा खुईल्याईएको र जुरो बाँधेको तस्बीर मेरै जसरी अल्वममा कैद हुनेछ र आफ्नो छोरोबाट पुनः नयाँ फ्यासनको परिभाषा सुन्नेछ ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार १६:०६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...