back
CTIZAN AD

कविता: निरङ्कुश कविको नाउँमा…

वि.सं.२०७७ मंसिर ६ शनिवार

834 

shares

राज्यसत्तामा पुगेको अनुदार शासक जस्तै
एउटा कवि पनि हुनसक्दो रहेछ-साच्चै निरङ्कुश !

स्वतन्त्रताको बारेमा
गजबको कविता लेखिरहेको छ भन्दैमा
सोच्नु गलत हुँदोरहेछ
स्वतन्त्रताकै पहरेदार–उसलाई
स्वतन्त्रताको बारेमा लेखिएको
उसको कविता त आफैंमा
हात्तीको देखाउने दातजस्तै रहेछ !

उ आफैं हुँदोरहेछ भित्रभित्रै–
स्वतन्त्रताको सबैभन्दा खतरनाक दुश्मन !

सुन्न र देख्न त धेरै टाढाको कुरा
सोच्नै समेत नसक्दो रहेछ उसले-
आफुले भन्दा उत्कृष्ट कविता
अरु कसैले पनि लेख्न सक्छ भन्ने
तीतो तर सत्य कुरा !

‘राज्य नै म हु, म नै राज्य हु !’
जपेर लुइ चौधौंको नाम
निरङ्कुश हुँदै गए जस्तै अनुदार शासक
‘कवि भनेकै म मात्रै हु, म भनेकै कवि मात्रै हु !’
सोच्दो रहेछ सदैव-
एउटा अनुदार निरङ्कुश कविले
र सम्झिदै हात्ती आफुलाई
देख्दोरहेछ-अरुलाई भुसुनो !

लगाएर बलियो गजबार भित्रबाट
बसेर आफू नितान्त एक्लै
बन्द गरिदिएर सधैंकालागि
नयाँ सम्भावनाको फराकिलो ढोका
लेखिबस्दो रहेछ- ‘जे आउँछ मज्जाले पचाउछ’ भनेझैँ
हजमोला शैलीमा पचाउने कविता !

आफ्नो एकलौटी साम्राज्य फैलाएजस्तै-अँध्यारोले
फैलाउन चाहदो रहेछ-आफ्नै एकल प्रभुत्व
र खेलाएझैँ बिरालोले मुसा
खेलाइरहन खोज्दोरहेछ-सदैव आफुले मात्रै
एकलौटी रूपमा प्रिय कवितालाई !

केन्द्रभित्र बसेर केन्द्रभित्रकै बारेमा
बोलिरहने र लेखिरहने केन्द्रीय कविलाई
निकै गनाउदो रहेछ-परिधिबाहिर रहेर
परिधिबाहिरकै बारेमा लेखिएको परिधिय कविता !

कुनै बहुराष्ट्रिय कम्पनिले बनाएझैँ
आफ्नो उत्पादनको ट्रेडमार्क
र लिएझैँ सामान या नामको सर्वाधिकार
आधुनिक निरंकुश कविले
सोंच्दोरहेछ-
कविताको शीर्षक, बिम्ब, प्रतीक, भाव, शब्द र मिथकहरुलाई
आफ्नै निजी पेवा !

जननिर्वाचित सरकारनै निरङ्कुश हुँदै गए जस्तै
हाम्रै माझमा खाइखेली, हुर्की बढेर
हाम्रै स्वतन्त्रताको बारेमा कविता लेखेरै
स्थापित भएको एउटा कविले
बनाउदो रहेछ-आफैंलाई निरङ्कुश
लेखेर अग्रगामी विचारको कविता
बोकेर हिंड्दो रहेछ सदैव-
साघुरो मन र मस्तिष्कभित्र
अटाइनसक्ने संकुचित मानसिकताले ग्रसित
प्रतिगामी विचारको निकै गह्रुङ्गो भारी !

त्यही प्रतिगामी विचारको गह्रुङ्गो भारीले किचिएर
थिचिएपछि सानो दिमाग भएको ठूलो टाउकोले
धान्नै नसक्दो रहेछ-फराकिलो सोचाइ
देख्नै नसक्दो रहेछ-आफुलाई बाहेक
स्वीकार गर्नै नसक्दो रहेछ-अरु कसैको अस्तित्व !

निरङ्कुश शासकले हालीमुहाली गरेजस्तै
देखाएर परम्परागत हुकुमी अहङ्कार
आजीवन चलाउन खोज्दो रहेछ हैकम- प्रिय कवितामाथि
बनाएर एकाधिकार सम्पूर्ण बिम्ब, प्रतीक र मिथकहरुलाई
सम्झिदो रहेछ-आफ्नै बाउको बिर्ता
र त प्रयोग नगर्नु भनेर हुकुम दिदोरहेछ-
झुक्किएर पनि अरु कसैले
आफुले प्रयोग गरेका कुनै पनि बिम्ब, प्रतीक र मिथकहरुलाई
र कहिल्यै नलेख्नु भन्दो रहेछ-
आफुले भन्दा उत्कृष्ट कविता !

दन्काएर बाहिर चाहिँ
विद्रोहको आगो ओकल्ने विद्रोही कविता
भित्रभित्रै निरङ्कुश तानाशाहीकै हिमायती
हुनुमै बडो गर्व गर्दोरहेछ-
सामन्ती संस्कारले सुसज्जित भएर
महासामन्ती सोच बोकेको
… लम्पटदास ठालु कविले !

आफ्नै निरङ्कुश असीमित इच्छा र आकाङ्क्षाको
बिना लगामको घोडादौडमा
बुज्रुक अनुभवको लगाम लगाउन खोजिरहने
विवेकशील हिम्मतलाई थिलथिलो तुल्याएर
अलिकति बाकी रहेको नाम मात्रैको अदबलाई
सिध्याइदिएर सधैंसधैंका लागि
चलाउन खोज्दो रहेछ सदैव
आफ्नै नाङ्गो भडैती राज !

लेखेर फुलको बारेमा निकै सुन्दर कोमल कविता
बोकेर हिंड्दो रहेछ सदैव कुरुप तीखो काढे प्रवृत्ति
लगाउदो रहेछ सदैव कुदृष्टि
तरुनी सिर्जनाको
कलिलो बैशालु जोवनलाई निरन्तर
र घोच्दो रहेछ मौका छोपेर
कुमारी वैशालु यौवनको अस्तित्वलाई
रयाल काढेरै बस्दोरहेछ
दुधको साक्षी बिरालो भएर !

निमोठेर जवर्जस्ती
सीमित इच्छा र आकाङ्क्षाको कलिलो घाँटी
मारेर अकालमै बीभत्स रूपमा
नयाँ कविका रहरिला सपनाहरूलाई
रमाउदो रहेछ सदैव-
साच्चै निरङ्कुश लम्पटदास कवि !

कुनै बहुराष्ट्रिय कम्पनिले बनाएझैँ
आफ्नो उत्पादनको ट्रेडमार्क
र लिएझैँ सामान या नामको सर्वाधिकार
आधुनिक निरंकुश कविले
सोंच्दोरहेछ-
कविताको शीर्षक, बिम्ब, प्रतीक, भाव, शब्द र मिथकहरुलाई
आफ्नै निजी पेवा !

सहृदयी सिर्जनशील प्रिय पाठक !
के रामायणमा रामको कथा छ भन्दैमा
अब कसैले रामका कथा लेख्दै नलेख्नु ?
महाभारतमा कृष्णको कथा लेखिसकियो भन्दैमा
खाडीबाट काठको बाकसमा कैद भई फर्किरहेको
कृष्णबहादुर नेपालीको कथा मैले लेख्दै नलेखौ … ?

वि.सं.२०७७ मंसिर ६ शनिवार १०:०५ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...