१.
हिंड्दा हिंड्दै बिचबाटोमा आँखा जुधाउँन आईँन्
आनन्ददिने शीत्तल छायाँ बनेर जीवनमा छाईँन्
एक्लै पट्यारिलो बगर छिचोल्न गाह्रो परेको बेला
जीवनको लयमा नयाँ धुन भरेर मधुर गीत गाईँन् ।
२.
लुट्नुधुत्नु एक्लैखानु र रमाउनु नै उत्कृष्ट जीवन ठान्नेले
स्वार्थको मैलो खास्टो ओढेर तानाशाही सिद्धान्त मान्नेले
विवेक त्याग र सद्भावको उज्यालो प्रकाश कहाँ चुम्छ
अहंकारको मदिरा पिएर आफ्नै खुट्टामा बञ्चरो हान्नेले ।
३.
सत्ताशीन सधैं, जनतालाई गुलाम ठान्छन्
कार्यकर्तालाई, आज्ञाकारी दास मान्छन्
हो ! हुन त जनता पनि, कहाँ कम छन् र
कोरा सिद्धान्तको भ्रमित जादुमा,सती जान्छन् ।
४.
कस्ताकस्ता मैहुँभन्ने, अहंकारीको सत्ता ढलेर गयो
सुनका पलङ्मा सुत्ने, सम्राटको शरीर जलेर गयो
पैसाका दलालहरुले मेट्न खोजेर, किन मेटिन्थ्यो
सत्पात्रको ओजस्वीकिर्ति, झनझन बलेर गयो ।
५.
तिमीले हात दियौ मैले पवित्र साथ दिएँ
अग्निसाक्षी राखेर विश्वासको फेरो लिएँ
जब शंकाको साँपले डसेर घायल बनायो
अनि पश्चातापको रापमा जलेर आँसु पिएँ ।