एक्काइसौं सताब्दीको अखेटामा उँभिदा पनि
दिमागमा टेको लगाउन पर्नेहरु
खुट्टाको नलि हाड दह्रा नहुनेहरु
धमनी र शिरामा प्रयाप्त रगत नखेल्नेहरु
समग्रमा भन्नू पर्दा दुधे आन्द्रा सुकेकाहरु
एकादेशको सौभाग्य गुमाइएकाहरु
सिंदुर ,चुरा र पोतेमा टेकिएकाहरु
बाह्रौ सताब्दीको अन्धकारमाझैं
अझै पनि हाम्रा आमाहरु
रातो रङ्गसंग डराउँछन्
भैगो बैनी ! अब फोन नगर
जहाज रनवेमा छ
अबका केही बेरमा जहाज उड्छ
म पनि उड्छु
जति सक्यो चाडो मैले देशलाई
रेमिट्यान्स दिनु छ ।
समाजले सातो उडाइए मध्येकी
रातो रंग त्यागेकी
मेरी पनि आमा छन्
जो विद्यमान दुनियाँसंग सधै डराईरहन्छिन्
मेरी आमाको दिमागको टेको हटाउन
खुट्टाको नलि हाड दह्रो पार्न
धमनी र शिरामा रातो रगत हिँडाउन
सिंदुर ,चुरा र पोतेमा उँभिएकी आमालाई
धर्तीमा टेकाउन
अब म उड्नु छ
म उड्नकोलागि
थन्काएर नागरिकता
पासपोर्ट बोकेर
एयरपोर्ट प्रवेश गर्दैछु
भैगो बैनी ! अब फोन नगर
जहाज रनवेमा छ
अबका केही बेरमा जहाज उड्छ
म पनि उड्छु
जति सक्यो चाडो मैले देशलाई
रेमिट्यान्स दिनु छ ।