
जुम्ला साह्रै जाडो अनि सुविधाको अभाव भएको ठाउँमा अन्जनाको सानो परिवार छ । आमा, बाबु, दुई बहिनी र भाइसँग बस्छिन् । उनी सानैदेखि सहनशील, मेहनती र बुद्धिमानी छिन् । यार्सागुम्बा, पाँचऔले, चिराइतो, पदमचाल जडिबुटि बेचेर अञ्जनाका बाबुले घर चलाउँछन् । वर्षभरी आम्दानी नहुँदा कहिलेकाँहीं ऋणको भारीले थिचिएर घर चलाउन साह्रै गाह्रो पर्दछ ।
अञ्जनाले आफ्नै गाउँको सरकारी विद्यालयबाट दोश्रो श्रेणीमा प्रवेशिका उत्तीर्ण गरिन् । घर नजिकको कलेजमा शिक्षासंकायमा मात्र पढाइ हुन्छ । त्यसैले उनले शिक्षासंकायबाट १२ पास गरिन् । बाहिर गएर पढ्ने आर्थिक अवस्था पनि थिएन । बैंकमा जागिर खाने ठूलो रहर थियो । शिक्षासंकाय लिएर पढे पनि बैंकमा जागिर पाएपछि अञ्जना साह्रै नै खुसी छिन् ।
छोरीको बिहे गर्ने उमेर भएपछि पनि कोही माग्न नआउँदा अञ्जनाका बाबु, आमा पीरले च्यापिएका थिए । माथिल्लो घरे लाहुरे घर आएको थाहा पाए । छोरीको बिहेको प्रस्ताव आफै लिएर गए । अन्ततः विवाह भयो । लाहुरे एक महिना घर बसेर लाहुर फर्के ।
अञ्जनाको महिनावारी हुन रोकियो । उनी आमा बन्ने खबरले सबैजना खुसी थिए । केही दिन पछि उनलाई साह्रै पेट दुख्ने र कलेजी रङ्गको रगत आउन थाल्यो । यो कुरा घरमा भन्दा ‘यस्तै हुन्छ लाटी’ भनेर जिस्क्याउँथे । अर्को दिन सबेरै उनी चिया बनाउँदैथिन् । उनलाई सहनै नसक्ने गरी पेट दु्ख्यो । सास फेर्न गाह्रो हुन थाल्यो । आमा आमा गुहार्दा गुहार्दै वेहोश भइन् । हतार–हतार उनलाई स्वास्थ्य चौकी लगियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि नेपालगञ्ज अस्पताल लैजान विमानको सहायता लिनु प¥यो । डाक्टरले जाँच गरे । अल्ट्रासोनोग्राफिबाट फ्लोपियन ट्यूवमा रगत जमेको देखियो । उनलाई अक्टोपिक गर्भावस्था भएको रहेछ । अक्टोपिक गर्भावस्थामा बच्चा गर्भासयमा नभएर फ्लोपियन ट्यूब, बच्चा जाने मुख, अण्डासय, पेट, इत्यादिमा हुने अवस्था हो ।
उनको शल्यक्रिया गरियो तर ट्यूब निकाल्नु परेन । विस्तारै उनलाई ठिक हुँदै गयो । दुई दिन पश्चात घर फर्किन् । सबै गाउँले भेट्न आए । अन्जना निकै दुःखी देखिन्छिन् । अब अञ्जना जागिर छोडेर घरमै बस्न थालिन् ।
झण्डै वर्षदिनपछि श्रीमान विदामा घर आए । आफू फेरि गर्भवती भएको थाहा पाईन् । तर न त यो कुरा कसैलाई भन्न मन लाग्यो न त खुसी हुन मन लाग्यो । पेट दुख्दा कसैलाई भन्न मन लागेन । बेलुकी सुतेकी मान्छे विहान उठ्ने चालचुल देखाइनन् । श्रीमान्ले हेर्दा वेहोश भएको थाहा पाए । फेरि अस्पताल लगियो । यसपटक शल्यक्रिया गर्दा फ्लोपियन ट्युब निकाल्नु प¥यो । उनमा यसबारे ज्ञानको कमी भएको नर्सहरुले बुझे । यसबारे सक्दो जानकारी दिए अनि आफ्नो दुःख अरुलाई सुनाउनु तर मनमा नराख्न सुझाव दिए । फेरि गर्भवती हुन सक्ने र बच्चा जन्माउन सक्ने कुराले अञ्जना अझ खुसी भइन् । तीन वर्ष पश्चात अञ्जनाको छोरा जन्मियो ।
अक्टोपिक गर्भावस्था जसलाई पनि हुन सक्छ । त्यसैले साह्रै पेट दुख्ने, रगत बग्ने, सास फेर्न गाह्रो हुने, धेरै पसिना आउने, मुटुको धड्कन तेज हुने जस्तो सङ्केत देखियो भने तुरुन्तै स्त्रीरोग विशेषज्ञलाई जचाँउनु पर्छ । हाल अञ्जना क्षेत्री जुम्ला जिल्लामा समाजसेवीको रुपमा कार्यरत छिन् । अक्टोपिक गर्भावस्थाको बारेमा जनचेतना फैलाउछिन् ।।