back
CTIZAN AD

विभिन्न निर्णयहरु गर्दै पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

वि.सं.२०७७ मंसिर १६ मंगलवार

621 

shares

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको साधारणसभा भर्चुअलरुपमा विभिन्न निर्णयहरु गर्दै आइतबार सम्पन्न भएको छ ।

साधारणसभाले शाखाको सदस्यता वितरणलाई व्यवस्थित बनाउन सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ ।

सो प्रतिवेदन कार्यान्वयनका सल्लाहकार योगीकै संयोजकत्वमा शाखाका वरिष्ठ उपाध्यक्षद्वय श्याम लुइँटेल र ध्रुवराज अर्याल, उपाध्यक्ष बिमला सेने, महासचिव सञ्जयभक्त कँडेल, नेपाल प्रेस युनियन युके शाखाका अध्यक्ष विपिन निरौला र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखाकी अध्यक्ष प्रमिला लाबुङ राई रहेको एक समिति गठन गरेको छ ।

यसैगरी, साधारणसभाले सन् २०२१ मा बेलायतमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको अधिक सहभागिताका लागि सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेसित मिलेर सूचनामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तैगरी, अर्को वर्ष शाखा स्थापनाको एक दशक पुग्ने भएकाले सो अवसरमा शाखाले एक स्मारिका प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

साधारणसभाले शाखाको सांगठानिक र आर्थिक प्रतिवेदन पनि सर्वसहमतिले पारित गरेको छ ।
महासचिव सञ्जयभक्त कँडेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमा शाखाले गरेका गतिविधिका साथै केही समसामयिक प्रस्तावहरु पनि समावेश छन् । जसमा युकेबासी नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ युकेमा पछिल्लो सममा देखिएको विवादले शाखालाई दुःख लागेको र महामारीले थिल्थिलो पारेको पृष्ठभूमिमा सबैले आफ्ना व्यक्तिगत स्वार्थ त्यागेर सामाजिक कार्यमा अघि सर्नुपर्ने बेलामा यस्ता विवादमा अल्झनु कदापि उचित नदेखिएको निष्कर्ष शाखाले निकालेको छ । शाखाले सम्बन्धित सबै पक्षलाई आपसी वार्ता, सम्वाद र सहमतिबाट चाँडोभन्दा चाँडो समस्याको समाधान निकाल्न अपील गरेको छ ।

अरु सामान्य समयमा भन्दा महामारीको बेलामा सत्य तथ्य सूचनाको महत्व झन् बढी हुने र गलत सूचनाले मानिसलाई झन् जोखिममा धकेल्न सक्ने भएकाले बेलायतस्थित नेपाली पत्रकारहरुलाई पहिलेभन्दा अझ गम्भीर र जिम्मेवार भएर सत्यतथ्य र पत्रकारिताको स्थापित मूल्यमान्यता तथा आचारसंहितालाई पालना गरी कार्यसम्पादन गर्न पनि शाखाले अनुरोध गरेको छ ।

महामारीले बेलायतस्थित नेपाली समाज र नेपाली उद्यमीहरुलाई पनि असर गरेको बताउँदै शाखाले महामारी जस्तो विषम परिस्थितिमा सामुदायिक पत्रकारिताको महत्व झन् टड्कारो हुने ठहर गरेको छ । त्यसैले युकेमा सञ्चालित नेपाली मिडिया र पत्रकारहरुलाई सहयोग गरिदिन शाखाले युकेस्थित नेपाली उद्यमीहरु र सम्पूर्ण नेपाली समुदायमाझ अपील समेत गरेको छ ।

पछिल्लो समयमा बेलायतस्थित नेपाली समुदायका सामाजिक गतिविधिमा संलग्न तथा विभिन्न संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरुबाट सञ्चारमाध्यममा प्रकाशित सामग्रीमाथि चित्त नबुझ्दा पत्रकारहरुलाई सामाजिक सञ्जालमार्फत धाकधम्की दिने, मुद्दा हाल्दिन्छु भनेर मानसिक यातना दिने आदि कार्य बढेकोमा चिन्ता व्यक्त गर्दै साधारणसभाले प्रकाशित सामग्रीमाथि आपत्ति भए त्यसमाथि आफ्नो धारणा व्यक्त गर्न अपनाउनु पर्ने प्रचलित तरिका अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

कोरोना भाइरसले मिडिया उद्योगमा पारेको प्रभावका कारण धेरै नेपाली पत्रकार पत्रकारिताबाट विस्थापित हुन पुगेको र कैयौँले तलव नपाएकोमा गम्भीर चासो व्यक्त गर्दै शाखाले यस कठिन परिस्थितिमा मिडिया उद्योगका लागि राहत प्याकेज ल्याउन शाखाले नेपाल सरकारलाई अनुरोध गरेको छ भने साथै मिडिया उद्यमीलाई पत्रकारहरुलाई निस्कासन र तलव रोक्का नगरी अन्य उपाय अवलम्बन गर्न अपील गरेको छ ।

कोरोना भाइरसको महामारीको चपेटामा परी बेलायतमा ज्यान गुमाएका नेपालीहरु तथा विश्वभर दिवंगत भएका सम्पूर्ण नेपाली पत्रकारहरुप्रति साधारणसभाले हार्दिक श्रद्धाञ्जलि अर्पण तथा सम्बन्धित परिवारमा समवेदना व्यक्त गरेको छ ।

यस्तै, कोरोना भाइरसका कारण सिर्जित यस विषम परिस्थितिमा सरकारले लागू गरेका निर्देशनहरुको पालना गरी आफू तथा आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्न पनि बेलायतस्थित सम्पूर्ण नेपाली समुदायसित शाखाले अनुरोध गरेको छ ।

शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको सो साधारणसभाको प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य थिए ।

सो अवसरमा अध्यक्ष आचार्यले युके शाखाले केन्द्रीय समितिलाई पुर्याएको उल्लेख्य सहयोग र सुझावका लागि धन्यवाद दिए । उनले महासंघले कोरोना प्रभावित पत्रकारहरुका लागि जोखिम न्यूनीकरण डेस्क खडा गरेको, जागिर खोसिएका पत्रकारहरुका लागि निःशुल्क कानुनी परामर्शको व्यवस्था गरेको जानकारी दिए । उनले महासंघका सदस्यहरुलाई कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सर्वसाधारणमा सचेतता र शिक्षामूलक सामग्रीको संप्रेषमा जोड दिन अनुरोध गरे ।
उद्घाटन सत्रमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्वअध्यक्ष चिरन शर्मा, नेपाल प्रेस युनियन युके शाखाका अध्यक्ष विपिन निरौला र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईले शुभकामना मन्तब्य दिएका थिए ।

साधारण सभाकी संयोजक उपाध्यक्ष बिमला सेनेले स्वागत मन्तब्य दिएको सो सत्रको संचालन महासचिव सञ्जयभक्त कँडेलले गरेका थिए ।

बन्द सत्रमा शाखाले सञ्चालन गर्दै आएको स्वास्थ्य सम्वादका बारेमा वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, वृत्तिविकास कार्यक्रमबारे अर्का वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, एफएनजे युके पत्रकारिता पुरस्कार बारे नियमावलीका बारेमा संयोजक सचिव डा.जगन कार्कीले जानकारी दिएका थिए ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार २०:१२ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...