
डाँडाकाँडा धवलगिरिका उच्च माथा विशेष
प्यारो धर्ती मन मुटुविषे राख्छु नेपाल देश ।
माटो हावा कलकल चिसो नित्य बग्ने छ पानी
नेपालीको अविचल धरा वीरताको निशानी ।१।
चढ्दै अग्ला हिमशिखरमा पुग्न पाए हुँदो हो
झर्दै बेँसी समथर धरा चुम्न पाए हुँदो हो ।
आभा छर्छन् रवि किरणले नित्य आई बिहानी
नेपालीको अविचल धरा वीरताको निशानी ।२।
हाम्रा गाथा अचलनिधि हुन् दिव्य आस्था बनेका
पुर्खाको त्यो रगत पसिना राष्ट्र बोकी बगेका ।
हाम्रो आफ्नैं हृदयतलमा देश राख्ने छ बानी
नेपालीको अविचल धरा वीरताको निशानी ।३।
झर्छन् झर्ना छङछङ यहीँ ताल फेवा र रारा
मेचीकाली प्रकृति पथमा नित्य भेट्छन् किनारा ।
पर्छन् आँखा सगरतलमा लाग्दछन् दिव्य खानी
नेपालीको अविचल धरा वीरताको निशानी ।४।
माटो भन्दै पलपल लडी प्राण त्याग्नेहरूको
प्यारो धर्ती मन मुटुविषे राख्न सक्नेहरूको ।
छुट्ने छैनन् समर विजयी लेख्न बाँकी कहानी
नेपालीको अविचल धरा वीरताको निशानी ।५।
छन्द: मन्दाक्रान्ता
वि.सं.२०७७ मंसिर २७ शनिवार १०:३८ मा प्रकाशित






























