
मलाई नचिने जस्तो गरेर तिमी
मलाई नदेखे जस्तो गरेर
मेरै छेऊ भएर गयौं
आखिर तिमीले राख्न दिएको थियो र
यो माटो परैबाट मेरो भनिरहन्छौ ?
मेरो आङ्गमा तिमीले
मेरो स्वाभिमानमा तिमीले
कोर्नु पर्दैन सिमाना फेरि ।
हेर
इतिहास साक्षी छ शदियौंदेखि
हाम्रो पूर्वजको चिहान यही माटोमा छ
सुघि हेर सुगन्ध ।
तिमीले हाम्रो जातियताको पहिचानलाई
अंकुश लाउन खोज्छौ
गोर्खाको वीरत्वको तक्मालाई
नचिनेर केवल कुडादानमा मिल्काउन खोज्छौ ।
आमाको काख कसलाई प्यारो हुन्न र ?
आमाको प्रेम कसलाई प्यारो हुन्न र !
मातृत्व र मातृसत्ताको निमित्त
लडिरहनेछ यो जाति
अनि एकदिन तिमी पराजित हुने छौ
जसरी महाभारतमा कौरवले
युद्धभूमिबाट भाग्नु परेको थियो ।
हेर तिमीले बुझ्नुपर्छ अब यो
देशलाई दासत्व हुनबाट हाम्रा पिता पुर्खाले
तातो रगत र पसिना बगाएका छन् ।
बुझ गोर्खाली–नेपाली हार्न जान्दैन विश्वमा
एक मुठ्ठी साहस रहुञ्जेल लडिरहने
जाति हामी ।
हाम्रो जिब्रो काट्न खोज्छौ
बोली बन्द गर्न खोज्छौ
हामीलाई बिनाकारण
हाम्रो अस्तित्व, स्वाभिमान र अस्मिताको
तिमीले निर्मम हत्या गर्न खोज्छौ ।
के मुलुकको रक्षा गरेको छैन र ?
के मेरो जाति मेरो सन्तानले
सिमाना सुरक्षाको खातिर
लडेको छैन र ?
सहिद भएको छैन र?
आज तिमी किन मेरो जातिलाई
विद्रोहीको उपमा दिन्छौ
के देश रक्षक विद्रोही हुन सक्छ र !
आमाको काख कसलाई प्यारो हुन्न र ?
आमाको प्रेम कसलाई प्यारो हुन्न र !
मातृत्व र मातृसत्ताको निमित्त
लडिरहनेछ यो जाति
अनि एकदिन तिमी पराजित हुने छौ
जसरी महाभारतमा कौरवले
युद्धभूमिबाट भाग्नु परेको थियो ।
लोवर लिङदुम गान्तोक, सिक्किम
वि.सं.२०७७ मंसिर २७ शनिवार १०:४४ मा प्रकाशित






























