१६ माघ,काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ ।
सशस्त्र प्रहरीको हलचोकस्थित भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । सो खेलमा एपिएफले जाउलाखेललाई २५–२०, २५–९ र २५–१२ अङ्कले हराएको हो । उद्घाटन खेलमा एपिएफका हिरा केसी वुमन अफ द म्याच घोषित भइन् ।
लिगकम नकाउटका आधारमा सञ्चालन भएको सो प्रतियोगितामा एपिएफ, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रका साथै न्यू डायमण्ड, नेपाल प्रहरी, पश्चिमाञ्चल विकास क्षेत्र र नेपाली सेनाको सहभागिता रहेको नेपाल भलिबल महासङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । माघ २० गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार, उपविजेताले रु एक लाख २५ हजार तथा तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।